अमरगढी, १७ जेठ– स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको विषयमा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेको भन्दै डडेल्धुराका एक कांग्रेसी कार्यकर्ताले आमरण अनसन थालेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको मतदाता नामावली रहेको गन्यापधुरा गाउँपालिकाका कांग्रेस नेता तिलक हमालले उम्मेदवारी छनोटमा केन्द्रबाट हस्तक्षेप भएको भन्दै अनसन थालेका हुन् ।
पार्टीमा सक्रिय भन्दा पनि आफन्तलाई टिकट दिन केन्द्रबाट नै तयारी भएको भन्दै हमालले नेपाली कांग्रेसको डडेल्धुरा पार्टी कार्यालय अगाडि आमरण अनसन थालेका हुन् ।
अनशन बसेका हमाल गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष पदका आकांक्षी हुन् । सभापति देउवाको घर पनि सोही गाउँपालिकाको वडा नम्बर १ मा पर्छ ।
‘जनताले चाहेको तथा पार्टीमा सक्रिय व्यक्तिभन्दा पनि आफन्तलाई टिक दिन खोजिएको छ,’ अनसन बसेका हमालले भने, ‘जनताले चाहेको व्यक्तिलाई पार्टीले टिकट टिकट नदिएसम्म म अनशन तोड्दिन।’
डडेल्धुरा कांग्रेसमा गुटबन्दीको राजनीति हावी भएको समेत हमालको आरोप छ । दोस्रो चरणअन्तर्गत हुने स्थानीय तह निर्वाचनका लागि देउवाको गृह जिल्लामा अन्य सबै राजनीतिक दलले उम्मेदवार चयन गरे पनि नेपाली कांग्रेसले उम्मेदवार चयन गर्न सकेको छैन।