
मेची प्रादेशिक अस्पतालमा जनशक्ति अभाव भएपछि भद्रपुर नगरपालिकाले २ मेडिकल अफिसरसहित ५ स्वास्थ्यकर्मीको व्यवस्था गरिदिएको छ ।
अस्पतालले जनशक्तिको अभावमा कोभिड–१९ संक्रमितको उपचारमा समस्या भएको जनाएपछि नगरपालिकाले आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था मिलाइदिएको हो ।
अस्पतालले स्वास्थ्य मन्त्रालय सरकारसँग पटक–पटक जनशक्ति अभावमा काम गर्न समस्या भएकाले थपका लागि आग्रह गर्दै आएका जनाएको छ । उनीहरूले मेची अस्पतालमा रहेको ७५ शय्याको कोभिड उपचार केन्द्रमा सेवा दिने भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
नगर प्रमुख श्रेष्ठ, मेची अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेल, अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुर, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शान्तिराम भट्टराई सहितको छलफलमा मेची अस्पतालमा थप अक्सिजन प्लान्ट सञ्चालनका लागि पनि भद्रपुर नगरपालिकाले सहयोग गर्ने निर्णय भएको छ ।
नगरपालिकाले नगरभित्रका गम्भीर अवस्थाका संक्रमित बिरामी बोक्न एम्बुलेन्स समेत सञ्चालनमा ल्याएको छ ।