
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार ५ सय ३३ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको छ । सो क्रममा १ हजार १ सय ७६ वटा गाडी र २ हजार ९ सय ७० वटा मोटरसाइकल गरी ४ हजार १ सय ४६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७६ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ ।
अभियानको क्रममा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ४ सय ५२ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ । साथै देशभर संचालित सचेतनामूलक कार्यक्रममा १६ हजार ६ सय ९५ जना सहभागी भएका छन् ।