जिम्बाब्वेमा एक पुरुषका १६ जना पत्नी र १५१ सन्तान छन् ।
मिशेक न्यानदोरो नामक ती पुरुष कुनै काम गर्दैनन् । उनको काम भनेकै आफ्ना पत्नीहरूलाई सन्तुष्ट बनाउनु हो ।
उनलाई थप विवाह गर्न मन छ । आउँदो हिउँदमा उनले १७औं बेहुली भित्र्याउँदैछन् । मर्नुअघि १०० पत्नी र एक हजार सन्तान पाउने उनको इच्छा छ ।
आफ्नो उद्दाम यौन चाहना पूरा गर्न वृद्धा पत्नीहरूले नसक्ने भएकाले युवतीहरू विवाह गरेको उनी बताउँछन् ।
आफूले विलासी जीवन बिताइरहेको र सन्तानहरूले उपहार र नगद दिने गरेको उनको भनाइ छ ।
म्याशोनल्यान्ड प्रान्तको एमबिरे जिल्लाका न्यानदोरोले स्थानीय पत्रिका द हेराल्डलाई बताए, ‘म एक रातमा चार पत्नीसँग सम्पर्क गर्छु । एउटी पत्नीलाई सन्तुष्ट बनाएर म अर्कीकोमा जान्छु । मेरो अरू कुनै काम छैन ।’
यी ६६ वर्षीय वृद्ध सन् १९८३ देखि बहुपत्नीगामी भएका हुन् र नमरुन्जेल सन्तानोत्पादन परियोजनामा लागिरहने बताउँछन् ।
सबै पत्नीहरू आफूसँग बस्दा एकदमै खुशी भएको उनको भनाइ छ ।