संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङभित्र १ मजदुरको मृत्यु भएको छ ।
विद्युत् गृहस्थलको सुरुङभित्र माथिबाट खसेको ढुंगाले लागेर कञ्चनपुरको शुक्लाफाँट नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।
बुधवार बिहान साढे ८ बजे आयोजनाको विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ पुखुवामा रहेको सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुंगाले रानाको मृत्यु भएको हो । घटनामा सोही स्थानका ५० वर्षीय मिठु राना घाइते भएका छन् ।
घाइते रानाको उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याएको छ ।
जलविद्युत् परियोजनास्थलमा अहिलेसम्म १ दर्जन बढी मजदुरले ज्यान गुमाइसकेका छन् । परियोजनामा नेपाली र भारतीयसहित ३ हजारभन्दा बढी मजदुर कार्यरत छन् ।
नेपाललाई २१ दशमलव ९ प्रतिशत अर्थात् १९७ दशमलव १ मेगावाट बिजुली निःशुल्क प्राप्त हुने आयोजनाबाट विभिन्न शीर्षकमा ३ खर्ब ४८ अर्ब आर्थिक लाभ हुने अनुमान छ । आयोजनाबाट २५ वर्षमा नेपालले रोयल्टी, निःशुल्क विद्युत् र आयकर गरी ३ खर्ब ४८ अर्ब प्राप्त गर्नेछ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारको स्वामित्वमा आउने छ ।