काठमाडौं, १३ पुस–सत्तारुढ कांग्रेस–माओवादी केन्द्रले स्थानीय निर्वाचनको मिति घोषणा गरेर संविधान संशोधन विधेयक अगाडि बढाउने प्रस्ताव गरेका छन् । तर, मधेसी मोर्चाले संविधान संशोधन नभएसम्म निर्वाचनमा जान नसकिने बताएका छन्, आजको नयाँ पत्रिकाले खबर छापेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बालुवाटारमा मंगलबार साँझ बसेको बैठकमा सत्तारुढ दलले संसद् अवरोध विफल बनाउन निर्वाचनको मिति घोषणा गरेर जाने विकल्प प्रस्ताव गरेका हुन् । तर, मोर्चाका नेताहरूले संविधान संशोधनअघि निर्वाचन घोषणा मान्य नहुने अडान लिएपछि त्रिपक्षीय बैठक निष्कर्षविहीन भएको रामसपाका महासचिव केशव झाले जानकारी दिए ।
बैठक सुरु गर्दै प्रधानमन्त्री प्रचण्डले स्थिति जटिल बन्न थालेको भन्दै अवरुद्ध संसद् खुलाउने विकल्पसहित अगाडि बढ्नुपर्ने बताएका थिए । उनले मधेसी मोर्चासहितको सहमतिमा स्थानीय निर्वाचनको मिति घोषणा गर्ने र संशोधन विधेयक तथा निर्वाचनसँग सम्बन्धित कानुनहरू अगाडि बढाउने विकल्प अगाडि सारेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि स्थानीय निर्वाचनको मिति घोषणा गरेर अगाडि बढ्नुपर्ने बताएका थिए । तर, मोर्चाका नेताहरू आफ्नो अडानबाट पछि नहटेपछि बैठकमा कुनै सहमति बनेन ।