
यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने आकलन गरिए पनि हालको प्रि–मनसुनमा राम्ररी पानी नपर्दा खडेरी भयो । वर्षाको अभावले डढेलो फैलिँदा जनजीवन नै प्रभावित बनाएको थियो ।
कतिपय जंगलमा लागेको डढेलो हेलिकप्टरबाट पानी लगेर निभाउनुपरेको थियो तर पछिल्ला केही हप्तादेखि भने मुलुकका अधिकांश भेगमा वर्षा भइरहेको छ । त्यसले डढेलोसमेत नियन्त्रणमा आएको छ ।
ठाउँठाउँमा असिना, हावाहुरी र चट्याङ सहितको पानी परिरहँदा केही स्थानमा क्षतिसमेत पुगेको छ । लामो समयदेखि आकाशे पानीको अभाव भइरहेको अवस्थामा परेको अहिलेको वर्षाले कृषि क्षेत्रलाई भने केही फाइदा भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन् ।
उनका अनुसार चट्याङले भने मानवीय क्षतिसमेत गराइरहेको छ । यही वैशाखमा मात्रै चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा पनि बुधवार राति र बिहीवार बिहान पानी परेको थियो । यो क्रम केही दिनदेखि जारी छ । रातिको भन्दा अहिले पानी पार्ने मौसम प्रणाली केही कमजोर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो अर्काे प्रणाली विकास भएर पुनः पानी पर्ने सम्भावना कायमै रहेको मौसमविद्को भनाइ छ ।
हाल नेपालमा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभाव छ । सुदूरपश्चिममा विकास भएको पश्चिमी न्यून चापीय प्रणाली र दक्षिण–पूर्व भूभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाका कारण नेपालमा पानी परिरहेको हो । प्रणाली पूर्वसम्म पुगेकाले अधिकांश भूभागमा सामान्य बदली रही गण्डकी तथा वाग्मती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बिहीवार बिहान पानी परेर केहीबेर रोकिए पनि दिउँसो फेरि नयाँ प्रणालीको विकास भई ठाउँठाउँमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीले जानकारी दिइन् । बिहीवार देशभर सामान्य बदली रहने छ ।
देशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका १–२ स्थानमा केही बढी वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् । – नारायण ढुङ्गाना/रासस