
कोरोना भाइरस संक्रमणका कारण नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी तथा डोटीको शिखर नगरपालिका–३ का युवा नेता लालबहादुर कठायतको बिहीवार मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार केही दिन पहिले कोरोना संक्रमण भई थप उपचारका लागि कैलाली लगिएका नेता कठायतको बिहीवार बिहान मृत्यु भएको हो ।
लामो राजनीतिक इतिहास बोकेका कठायत जिल्लामा निडर, साहसी तथा मिलनसार युवा नेताका रूपमा चिनिँदै आएका थिए । उनको मृत्युले सिंगो नेकपा एमाले डोटीसहित प्रदेश कमिटी स्तब्ध भएको एमालेका जिल्ला अध्यक्ष रामबहादुर ऐरले बताए ।
उनले भने, ‘कठायतजी पार्टीका लागि एक कर्मठ, इमान्दार र त्यागी नेता हुनुहुन्थ्यो, उहाँको निधनले पार्टीलाई अतुलनीय क्षति भएको छ ।’
केही दिन पहिले कोरोना परीक्षण गर्दा उनको पीसीआर पोजेटिभ देखिएको थियो । उनीसहित कोरोना भाइरसको संक्रणबाट डोटीमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।