२१ जेठ २०८३, बिहीबार
अपराधको अर्को रूप

चकलेट र पैसाको प्रलोभन देखाएर कानको मुन्द्रा थुत्ने भुजेल, मदिराको लतले चोरी धन्दा !

जेठ २०, २०८३
काठमाडौं

मदिराको लत पूरा गर्न बालबालिकालाई नै निशाना बनाएर सुनका मुन्द्रा चोरी गर्ने एक व्यक्ति अहिले प्रहरी हिरासतमा छन् । उनी हुन्, सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–६ घर भई काठमाडौंको कपनमा डेरा गरी बस्ने ३७ वर्षीय विकास भुजेल ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भुजेलले काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रका बालबालिकालाई चकलेट तथा नगदको प्रलोभन देखाएर कानमा लगाएका सुनका मुन्द्रा चोरी गर्दै आएका थिए ।

प्रहरीका अनुसार भुजेलको पहिलो निशाना कागेश्वरी मनोहरा नगरपालिकाका ७ वर्षीय आरिक कार्की बनेका थिए । खेलिरहेका आरिकलाई सय रूपैयाँ दिने प्रलोभन देखाएर उनले कानमा लगाएको सुनको मुन्द्रा चोरी गरी फरार भएका थिए । 
आरिकका बुबा अमृतबहादुर कार्कीले प्रहरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान शुरू गरिएको थियो । उक्त घटनामा दुईवटा सुनका मुन्द्रा चोरी भएका थिए ।

त्यसपछि भुजेलले कागेश्वरी मनोहरा–९ की ७ वर्षीया स्मृति थापा मगरलाई चकलेट र नगदको प्रलोभन देखाई उनको सुनको एक जोडी मुन्द्रा चोरी गरेका थिए । सोही दिन उनले कागेश्वरी मनोहरा–७ मा खेलिरहेका ५ वर्षीय प्रवल खत्रीको कानबाट पनि मुन्द्रा चोरी गरेका थिए ।

गत वैशाख १३ गते काँडाघारी निवासी दिलकुमारी आलेकी ३ वर्षीया छोरी रुहान्सीको सुनको मुन्द्रा चोरी भएको थियो । प्रहरीका अनुसार भुजेलले उनलाई पनि चकलेट दिएर फकाएका थिए ।

त्यसैगरी, वैशाख १७ गते ६ वर्षीय सम्राट खड्का, भोलिपल्ट ५ वर्षीय आयुष डाँगी तथा वैशाख २३ गते ५ वर्षीया निलिक्षा श्रेष्ठ पनि उनको निशानामा परेका थिए ।

प्रहरीका अनुसार सबै घटनाको शैली समान थियो । भुजेलले बालबालिकालाई चकलेट वा सय रूपैयाँको प्रलोभन देखाउने, विश्वास जित्ने र मौका मिल्नेबित्तिकै सुनका मुन्द्रा चोरी गर्ने गरेका थिए ।

लगातार सातवटा घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान तीव्र बनाएको थियो । कागेश्वरी मनोहरा क्षेत्रमा विशेष निगरानी बढाइएको थियो भने सादा पोशाकमा प्रहरी परिचालन गरिएको थियो । साथै, सीसीटीभी फुटेज अध्ययन तथा प्रत्यक्षदर्शीसँग सोधपुछ गरिएको थियो ।

अनुसन्धानका क्रममा प्राप्त विवरणका आधारमा प्रहरीले वैशाख २३ गते राति करिब ९ बजे कागेश्वरी मनोहरा–७ स्थित तेजबिनायकतर्फ जाने सडकबाट भुजेललाई पक्राउ गरेको थियो ।

खानतलासीका क्रममा उनको मनीपर्सबाट बालबालिकाले लगाउने सात जोर र एउटा थप सुनको मुन्द्रा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानमा भुजेलले विभिन्न स्थानमा बालबालिकाका सुनका मुन्द्रा चोरी गरेको स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार भुजेल मदिराको लतमा फसेका थिए । मदिरा सेवन गरेपछि उनी बालबालिकालाई खोज्दै हिँड्ने र सुनका मुन्द्रा चोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्दासम्म उनले पछिल्लो समय चोरी गरेका अधिकांश मुन्द्रा बिक्री गर्न भने भ्याएका थिएनन् । त्यसैले अधिकांश गहना बरामद गर्न सम्भव भएको हो ।

प्रहरीले अभिभावकलाई बालबालिकालाई अपरिचित व्यक्तिबाट कुनै वस्तु नलिन, उनीहरूसँग एक्लै नजान तथा कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल जानकारी दिन सचेत गराएको छ ।

भिडियो सामग्री :

 

salt training

कमेन्ट गर्नुहोस्