०७ साउन २०८३, बिहीबार
मदन भण्डारीको ७५औँ जन्मजयन्ती

प्रतिगमन पराजित गर्न लोकतान्त्रिक र वामपन्थी शक्तिबीच एकता आवश्यक : केपी ओली

असार १४, २०८३
काठमाडौं
प्रतिगमन पराजित गर्न लोकतान्त्रिक र वामपन्थी शक्तिबीच एकता आवश्यक : केपी ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान परिस्थितिमा प्रतिगमनका चुनौतीहरू सामना गर्न सबै लोकतान्त्रिक र वामपन्थी शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको बताएका छन्।

मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै ओलीले अहिले समाजवाद निर्माणको बहसभन्दा प्रतिगमनलाई पराजित गर्ने विषय प्राथमिक भएको बताए।

'यतिबेला समाजवाद निर्माण कहाँबाट गर्नु? यहाँ त प्रतिगमनले आक्रमण गरेर हैरान बनाइरहेको छ। प्रतिगमनलाई पराजित गर्ने मुख्य बेला आएको छ। सबै लोकतान्त्रिक र वामपन्थी शक्तिहरूले कार्यगत एकता गरेर प्रतिगमनलाई पराजित गर्नुपर्छ,' उनले भने।

ओलीले विश्वभर अस्थिरतावाद, लोकप्रियतावाद र हिंसात्मक गतिविधिलाई प्रोत्साहन गर्ने प्रवृत्ति बढिरहेको उल्लेख गर्दै राम्रो कामको प्रशंसा नगरी चरित्रहत्या गर्ने संस्कृति फैलिएको टिप्पणी गरे।

'दुनियाँभरि अस्थिरतावादी, लोकप्रियतावादी र हिंसात्मक गतिविधिबाट व्यवस्था कमजोर बनाउने, चरित्रहत्या गर्ने, असल कामको चर्चा नगर्ने र राम्रो काम गर्नेको हुर्मत लिने प्रवृत्ति बढेको छ,' उनले भने।

उनले नेपाल कम्युनिस्ट पार्टी (एमाले) आफ्ना नीति र विचारमा स्पष्ट रहेको उल्लेख गर्दै नीति सही वा गलत छ भनेर पुष्टि गर्न कसैसँग एकता गर्न नपर्ने बताए।

'नेकपा एमाले आफ्ना नीतिबारे एकढिक्का छ। आफ्ना नीति ठीक छन् कि बेठीक भनेर कसैसँग एकता गर्ने पक्षमा छैन,' उनले भने।

ओलीले एमालेले अघि सारेको 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय आकांक्षालाई नै समाजवादको व्यावहारिक रूपका रूपमा व्याख्या गरे।

'समाजवाद के हो भन्ने कुरा आम नागरिकले बुझ्ने गरी भन्ने हो भने 'समृद्ध नेपाल, सुखी नेपाली' नै हो। नेपाललाई समृद्ध बनाउनुपर्छ, नेपालीलाई सुखी बनाउनुपर्छ,' उनले भने।

समृद्धि मात्र भएर सुरक्षा, समानता र सम्मान नहुँदा नागरिक सुखी हुन नसक्ने उनको भनाइ छ । 'समृद्धि छ तर सुरक्षा छैन भने सुख हुँदैन। अपमान, हेला छ भने पनि सुख हुँदैन। सुख भनेको जैविक र मानवीय न्यायोचित आवश्यकताहरूको सहज परिपूर्ति हो। त्यसभित्र समृद्धि, सुरक्षा, समानता, मानवअधिकार र परिपूर्ण लोकतन्त्र सबै पर्छन्,' उनले भने।

ओलीले एमालेको राजनीतिक लक्ष्य केवल निर्वाचन जित्नु नभई समृद्ध र आधुनिक नेपाल निर्माण गर्नु रहेको बताए। 'हाम्रो उद्देश्य चुनावदेखि चुनावसम्म सीमित छैन। हाम्रो यात्रा अहिलेको अवस्थाबाट समृद्धि, गरिबी निवारण र सम्पन्न आधुनिक नेपाल निर्माणतर्फको हो। हामीलाई जार्गन होइन, व्यवहारिक परिवर्तन चाहिएको छ,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्