
नेपाली कांग्रेसले बहुमतको नयाँ सरकार गठन गर्ने सम्भावना एकदम न्युन भएको निष्कर्ष निकालेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट तोकिएको समयसीमा साँझ ९ बजेसम्म भएपनि त्यसअघि बिहीवार दिउँसो बसेको पार्टी पदाधिकारी बैठकले बहुमत पुग्ने सम्भावना नरहेको निष्कर्ष निकालेको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले समर्थन गर्न नसक्ने भएपछि बहुमत नपुग्ने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
‘बहुमत पुर्याउनका लागि महन्थ पक्ष पनि तयार देखिएनन् । माधव पक्ष पनि तयार देखिएन,’ कांग्रेस बैठकको निष्कर्षबारे जानकारी दिँदै सहमहामन्त्री महतले भने, ‘बहुमतको दाबी गर्ने सम्भावना एकदम न्युन भयो ।’
यसअघि बिहीवार बिहान सभापति देउवाले अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोलाई भेटेर सहयोग गर्न आग्रह गरेका थिए । तर दुवै नेताले देउवाको आग्रह अस्वीकार गरेका थिए ।