
नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षका १९ सांसद भक्तपुरको एक रिसोर्टमा भेला भएका छन् ।
भेलामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आह्वान भएको नेपालको संविधानको धारा ७६(२) अनुसार गठबन्धन सरकार बनाउने विषयमा छलफल भइरहेको सांसद चन्दा चौधरीले जानकारी दिइन् ।
‘राष्ट्रपतिले आह्वान गरेअनुसारै गठबन्धन सरकारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै समर्थन गर्ने वा तटस्थ बस्ने भन्नेबारे छलफल भइरहेको छ, सांसद चौधरीले भनिन् ।
प्रधानमन्त्री ओलीले नेकपा एमालेभित्र असन्तुष्ट रहेका माधवकुमार नेपाल पक्षलाई सहमतिमा ल्याइसकेपछि धारा ७६(२) अनुसारको सरकार बन्ने सम्भावना देखिएको छ । नेकपा एमालेका सबै १२१ सांसद र महन्थ पक्षीय १९ सांसद जोड्दा आवश्यक बहुमत पुग्ने देखिएको छ ।
पार्टीले निर्णय लिनुअघि जसपा अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका स्रोतले जनाएको छ । बालुवाटारमा सकारात्मक वार्ता भएमा जसपाका बहुमत सांसदको बैठकबाट ओलीलाई नै समर्थन गर्ने निर्णय हुने स्रोतले जनाएको छ ।
यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन विपक्षी गठबन्धनले प्रयास गरेपनि आवश्यक बहुमत नपुग्ने निष्कर्ष निकालिसकेका छन् । नेपाली कांग्रेसको पदाधिकारी बैठक र नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले बहुमत नपुग्ने निष्कर्ष निकालेको छ ।