०९ असार २०८३, मंगलबार

चितवनमा अक्सिजनको अभाव

बैशाख ३१, २०७८
चितवनमा अक्सिजनको अभाव
सांकेतिक तस्वीर

कोभिड–१९ जटिल सङ्क्रमितलाई उपचार गर्न जिल्लामा अक्सिजन अभाव हुन थालेको छ । बाहिरी जिल्लाबाट अक्सिजन आउन छाडेपछि यहाँका अस्पतालमा माग अनुसार अक्सिजन नपुगेको हो । 

जिल्लामा कोरोनाका उपचार गराइरहेका दुई सरकारी र दुई मेडिकल कलेजका  आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा रहेको छ ।  

पछिल्लो समय बिरामीको सङ्ख्या बढेपछि उद्योगबाट अक्सिजन ल्याउनु पर्ने बाध्यता भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार दैनिक एक हजार २०० सिलिन्डर जिल्लाका अस्पतालमा आवश्यक पर्दछ ।

यहाँको चार अस्पताल र एउटा निजी उद्योगको गरी ८८० सिलिन्डर मात्रै उत्पादन हुँदै आएको छ । दैनिक ३२० सिलिन्डर अक्सिजन जिल्लामा अपुग भएको उनले जानकारी दिए ।

भरतपुर अस्पतालले दैनिक ७५ सिलिन्डर उत्पादन गर्दछ भने २०० खपत गर्दछ । चितवन मेडिकल कलेजको ४०० सिलिन्डर खपत रहेको छ भने उत्पादन ७५ सिलिन्डर मात्रै छ ।

कलेज अफ मेडिकल साइन्सेसलाई आवश्यक पर्ने ३५० सिलिन्डर आफै उत्पादन गर्दछ । बीस सिलिन्डर अक्सिन उत्पादन गर्ने वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको खपत दैनिक एक सय सिलिन्डर रहेको छ । 

निजी अस्पतालले दैनिक १०० सिलिन्डर र अन्य प्रयोगमा ५० सिलिन्डर खपत हुँदै आएको छ । जिल्लामा रहेको एक मात्रै स्वर्गद्वारी अक्सिजन उद्योगले दैनिक ३६० सिलिन्डर उत्पादन गर्दछ । 

जिल्लाको तथ्याङ्कलाई हेर्दा यहाँका अस्पताल र घरायसी प्रयोगका लागि ६८० सिलिन्डर दैनिक अभाव हुने गरेको छ । स्वर्गद्वारीको उत्पादन ३६० सिलिन्डर भए पनि दैनिक ३२० सिलिन्डर बाहिरी जिल्लाको भर पर्नु परेको छ । 

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले यस अघि काठमाडौं र रुपन्देहीमा प्लान्ट भएको शंकर ग्याँस उद्योग र परवानीपुरमा प्लान्ट भएको भाजुरत्न इञ्जिनियरिङ एण्ड सेल्सबाट अक्सिजन आउने गरेको जानकारी दिए ।

उनका अनुसार ती उद्योगबाट अहिले आउन रोकिएपछि जिल्लामा समस्या आएको हो । 

भरतपुर अस्पतालमा शंकर ग्याँसले वर्षदिन भरका लागि बोलपत्र सकारेको भए पनि ग्यास दिन नसक्दा समस्या भएको छ । उद्योग रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग आफूले निरन्तर रुपमा ग्याँस पठाइदिन अनुरोध गरेको भए पनि नआउँदा समस्या भएको उनको भनाइ छ । 

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बिरामी बचाउनै मुस्किल हुने अवस्था आएको बताए ।

उनले भने, “सिलिन्डर खोजेर अहिलेसम्म धानिरहेका छौं, अस्पतालमा कोभिडको श्यया विस्तार गर्ने योजना बनाएको भए पनि अक्सिजनको अभावका कारण समस्या भएको  छ । ”

जिल्लाका अस्पतालमा ५० प्रतिशतभन्दा बढी बाहिरी जिल्लाका संक्रमित उपचार गराइरहेका छन् । छिमेकी जिल्लाबाट संक्रमित पठाउने तर अक्सिजन आउन नदिने हुँदा समस्या भएको छ । नारायण अधिकारी/रासस

salt training

कमेन्ट गर्नुहोस्