पछिल्लो समय नेपाली चलचित्रमा नयाँ नयाँ प्रयोग हुन थालेको छ । परम्परागत चलचित्रको धारमा पनि चलचित्र बनिरहेका छन् भने अर्कोतिर चलचित्रकर्मीले विदेशी बजारमा नेपाली चलचित्रको बजार स्थापना गर्न नयाँ प्रयोग पनि गर्न थालेका छन् । जुन सकारात्मक पक्ष हो ।

भोलि अर्थात जेठ १९ गतेबाट चलचित्र ‘जालो’ प्रदर्शन हुँदैछ । चलचित्र प्रदर्शनको मिति नजिकिएसँगै फिल्मका निर्देशक अराज केशब तथा निर्माता मोहित मुनाल प्रचारको अन्तिम चरणमा छन् ।
एकै शटमा निर्माण गरिएको दुई घण्टा लामो चलचित्र ‘जालो’ राम्रो बनेको निर्देशक अराज केशब बताउँछन् । ‘फिल्मको कथा राम्रो थियो । हामीले बनाउन खोजेभन्दा पनि राम्रो चलचित्र बनेको छ ।’ उनले लोकान्तरसँग कुराकानीकमा भने, ‘दर्शकलाई एक शट होस् या हजार शट भन्ने कुराको मतलब हुँदैन । उहाँहरुले चाहेजस्तो फिल्म हामीले बनाएका छौं ।’
चलचित्र ‘जालो’ सँगै देशको नामसमेत जोडिएकाले फिल्म बनाउँदा खेलवाड नगरेको केशब बताउँछन् ।
फिल्मसँग देशको नाम कसरी जोडिन्छ त?
उनी भन्छन्, ‘हामीले फिल्मलाई गिनिज बुकमा नाम लेखाउने प्रक्रियामा पनि छौं । र, यो चलचित्रलाई विश्वबजारमा विक्री गर्न लागेका छौं ।’
संसारमै पहिलोपटक वान शटको फिल्म बनाउनु सहज थिएन । त्यो पनि एकैपटक दुई सिनेमा । तर, केशबले आफ्नो मनमा उक्त चलचित्रलाई धेरैपटक प्रदर्शन गरेका थिए । उनलाई यो चलचित्र राम्रो बन्छ भन्ने लागेको थियो । एकदिन उनले आफ्नो फिल्मको कन्सेप्ट आफ्ना साथी मोहित मुनाललाई सुनाए । फिल्मक्षेत्रमा काम नै गर्दिन भन्ने मनशाय बनाएका मुनाल एकाएक निर्माता बन्न तयार भए ।
एरेन्जर र ब्याकग्राउन्ड स्कोरमार्फत फिल्ममा छाएका मुनाल सुनाउँछन्, ‘फिल्ममा ब्याकग्राउन्ड स्कोर गर्दागर्दै वाक्क भएर फिल्ममा काम नै नगर्ने योजनामा थिएँ । तर जालोको कथा सुनेपछि निर्माता बन्न मन लाग्यो ।’ मुनाल सुनाउँछन्, ‘कथा सुन्दा नै फिल्म राम्रो बन्छ भन्ने लागेको थियो । अहिले फिल्म सोचेभन्दा राम्रो बन्यो ।’

सुरुमा फिल्म बनाउने योजना बनाउँदा वरिष्ठ कलाकारहरुले नै फिल्म बन्ला र भन्ने अड्कल काटेको मुनाल बताउँछन् । प्राविधिक रुपमा समस्या भएपनि सबैको सहयोगले एकैपटक दुई फिल्म निर्माण गर्न सम्भव भएको उनी बताउँछन् । भन्छन्, ‘हामीले चार घण्टाका लागि क्यामेराको ब्याकअप समृत विदेशबाट ल्याएका थियौं ।’
युनिभर्सल सर्टिफिकेट पाएको चलचित्र जालो नेपाली भाषामा मात्र प्रदर्शन हुने छैन । अन्य भाषामा उपशीर्षक राखेर पनि फिल्म प्रदर्शन हुनेछ । ‘हामीले विश्वबजारका लागि ‘इनास’ (चलचित्र वितरक कम्पनी) लाई जिम्मा दिँदैछौं । उनीहरुले कसरी विदेशमा प्रदर्शन गर्छन्, त्यसमा भर पर्छ ।’ निर्देशक केशब थप्छन्, ‘ इनाससँग मौखिक सम्झौता भएपनि लिखित सम्झौता भने भएको छैन ।’
चलचित्रमा देखिने ५६ कलाकारलाई एकैपटक काम गराउन गाह्रो थियो । १९ दिनको कार्यशालापछि बीसौं दिन शूटिङ गरिएका दुई चलचित्र ‘जालो’ र ‘जालो रिटन्र्स’ बनाउन सम्भव बन्नुको श्रेय कलाकारको युनिटलाई दिन्छन् केशब । भन्छन्, ‘सबै कलाकारको साथ नपाएको भए मेरो सपना सपना नै रहन्थ्यो ।’ उनी थप्छन्, ‘फिल्म राम्रो बनेको छ । तर बाहुबली जस्तो बनेको छैन । हामीले विश्व रेकर्ड राख्ने उद्देश्यले बनाएको फिल्म गज्जब बनेको छ । कामको हाम्रो मिहिनेत खेर जाने छैन ।’