कोभिड–१९ को संक्रमण र यसको प्रभाव बढेसँगै नेपालका सफल दुई व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले संयुक्त प्रयासमा सहयोगको श्रृंखला शुरू गरेका छन् ।
दुबै समूहले संयुक्त रुपमा हालसम्म साढे तीन करोड रुपैयाँ भन्दा बढिको स्वास्थ्य सामाग्री, उपकरण र प्राविधिक सहयोग देशभरका अस्पताल र अग्रपक्तिमा खटिएका ‘कोभिड वारियर’ हरुलाई हस्तानान्तरण गरिसकेका छन् ।
शंकर र इन्फिनिटीले काठमाडौंको वीर र सशस्त्र प्रहरी बल अस्पताल, रुपन्देही र सेती प्रादेशिक अस्पतालका लागि आवश्यक सहयोग अग्रंपक्तिमा खटिएका दुई समाजिक संस्था मार्फत केही सामाग्री हस्तानान्तरण गरिसकेका छन् भने केही समाग्री एकदुई दिनमै हस्तान्तरण गर्दैछन् ।
शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल र इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टले महामारीमा सहयोगको यो श्रृंखला निरन्तर संचालन रहने बताए । उनीहरुले यस मानविय संकटमा अधुरा र उधारो बाचाभन्दा अहिलेको तत्काल आवश्यकताको पूर्तिका लागि आफुहरु सक्रिय रहेको बताए ।
यो समूहका अनुसार केही दिनमै धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा अत्याधुनिक तथा बहुउपयोगी अक्सिजन प्लान्ट जडानको तयारी भइरहेको छ । फ्रान्सबाट एयर लिफ्ट गर्न थालिएको नोभाएयर मेडिकल्स कम्पनीको अक्सिजन प्लान्टले ४५ शैंयाँमा ‘हाइ फ्लो’ र दैनिक सात सय लिटर अक्सिजन उत्पादन हुनेछ ।
दुबै कम्पनीले पहिलो चरणमा वीर अस्पतालको नयाँ भवनमा ५० शैयाका साथै त्यसका लागि आवश्यक म्याट्रेस, तन्ना, सिरानी र त्यसको खोल लगायतका सामाग्री हस्तानान्तरण गरेको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा आवश्यक अस्पताल तथा स्वास्थ्य संस्थाका लागि १०० शैयाँका साथै त्यसका लागि आवश्यक सामाग्री हस्तानान्तरण गरिएको छ ।
कम्पनीले काठमाडौंमा सामाजिक संस्था हामी नेपाल र सुदूरपश्चिम प्रदेशमा ह्युम्यानिटी फाउण्डेशन मार्फत सहयोग हस्तान्तरण गर्दै आएको छ ।
शंकर र इन्फिनिटीले चीनबाट मगाएका ५२० थान भल्भ्स र रेगुलेटर सहितका अक्सिजन सिलिन्डर सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र सशस्त्र प्रहरी अस्पताल बलम्बुलाई एकदुई दिनमै हस्तानान्तरण गर्दैछ । यस्तै रुपन्देहीमा अग्रपंक्तिमा खटिएका ‘कोभिड वारियर’ का लागि ५० हजार मास्क उपलब्ध गराइएको छ ।
यो समूहले सुदूरपश्चिम प्रदेशका लागि ३२० थान र एपीएफ अस्पताल तथा कर्णाली प्रदेशमा एक–एकसय थान सिलिन्डर हस्तान्तरण गर्दैछ ।
यो समूहले सुदूरपश्चिम प्रदेशका लागि डेढ लाख थान मास्क, २०० थान पीपीई सेट प्रदान गरिसकेको छ । यसअघि उक्त समूहले वीर अस्पतालमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र जोखिम मोलेर स्वयंसेवामा खटिएका हामी नेपालका स्वयंसेवकका लागि २५० वटा पीपीई सेट, २०० फेस सिल्ड र पाँच हजार मास्क दिएको छ ।
‘अहिलेको महामारीमा सामाजिक उत्तरदायित्व वहन गर्दै संयुक्त रूपमा आवश्यक सामग्री दिएका हौं,’ यो समूहले भनेको छ, ‘तत्काल आवश्यक पर्ने सहयोग गरेर केही व्यक्ति बचाउन सकियोस् भन्ने उद्देश्यले यी सामग्री हस्तान्तरण गरेका हौं ।’