
निर्वाचन आयोगले बाग्मती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आचारसंहिता विपरित विज्ञप्ति प्रकाशित गर्ने तथा वक्तव्य जारी गर्ने काम भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधवार एक विज्ञप्ति प्रकाशित गरी जेठ ३ गते राती १२ बजेपछि निर्वाचनको मौन अवधि शुरू भइसकेको अवस्थामा विज्ञप्ति प्रकाशित गरिएकोप्रति आयोगको ध्यानाकर्षण भएको बताएका हुन् । आयोगले आचारसंहिता उल्लंघन गर्ने दलमाथि कारवाही गर्ने चेतावनी दिएको छ ।
‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरूले आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरूले उम्मेदवारको जीतहारको पूर्वानुमानका सामग्रीहरू प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरूको अन्तर्वार्ता लिने जस्ता गतिविधिहरू गरेको देखिएकाले यसतर्फ आयोगको गम्भीररूपमा ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चारमाध्यम लगायतले पालना गर्नुपर्ने आचारसंहिता समेत लागू भइसकेको सन्दर्भमा आचारसंहिता विपरीतका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयता प्रति नै आघात पार्ने कुरा स्पष्ट नै छ ।’
आयोगले भोलि हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । उपनिर्वाचनमा बागमती प्रदेश सभा सदस्य ११० जना र बागमती प्रदेश अन्तर्गतका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना मतदाता रहेको निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचन हुने जानकारी गराएको छ । मतदान बिहान ९ बजेदेखि ३ बजेसम्म हुने छ ।
सत्तारुढ नेकपा एमालेबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा तथा कांग्रेस र माओवादीको समर्थनमा एमाले माधव नेपाल पक्षका खिमलाल देवकोटा उम्मेदवार छन् । माओवादीले थापामाथि कारवाही गरेपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।