
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमितको उपचारका लागि सातै प्रदेशमा तत्काल अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटर शय्यासहितका अस्थायी अस्पताल बनाउन माग गरेको छ ।
कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले कोरोना उपचार र नियन्त्रणमा सरकारलाई गम्भीर बन्न आग्रह गर्दै संक्रमितको उपचारमा राज्यको सम्पूर्ण शक्ति र निकायलाई परिचालन गर्न माग गरेको छ ।
बैठकले मुलुकभरका अस्पतालमा आवश्यक मात्रामा शय्या, अक्सिजन, सघन उपचार कक्ष शय्या र भेन्टिलेटरको व्यवस्थापन गर्न तथा सबैलाई तत्काल कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।
बैठकले बिहिीबार हुने राष्ट्रियसभाको उपनिर्वाचनका पूर्वसन्ध्यामा प्रधानमन्त्रीले वक्तव्य सार्वजनिक गर्दै मत मागेको भनी आपत्ति जनाउँदै निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारवाहीका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।