०१ असार २०८३, सोमबार

काठमाडौंमा ४३ हजार बढीले लिए भेरोसेल खोप

जेठ ६, २०७८
काठमाडौंमा ४३ हजार बढीले लिए भेरोसेल खोप

काठमाडौं महानगरपालिकामा सञ्चालित केन्द्रबाट हालसम्ममा ४३ हजार १८ जनाले कोभिड–१९ विरुद्धको (चिनियाँ खोप) भेरोसेलको दोस्रो मात्रा लिएका छन् ।

पहिलो मात्रा दिएकालाई जेठ २ गतेदेखि भेररोसेलको दोस्रो मात्रा दिन थालिएको हो ।

यसरी खोप लिनेमा २३ हजार ४८५ पुरुष र १९ हजार ५३३ महिला छन् । यो संख्या कामपाको वडास्तरीय ३२ वटा खोप केन्द्र र त्रिवि शिक्षण अस्पतालमा भएको एउटा गरी ३३ खोप केन्द्रको संख्या हो ।

यीमध्ये सबैभन्दा धेरै वडा नम्बर २६ को खोप केन्द्र लैनचौरबाट २ हजार ४९२ ले खोप लिएका छन् । वडा १६ को बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र जुडो हल केन्द्रबाट २ हजार ४२७ ले र तेस्रोमा वडा नम्बर ३२ बाट २ हजार ३८५ ले खोप लिएका छन् ।

कामपामा ११ वडामा खोप लिनेको संख्या १ हजारभन्दा कम रहेको छ । यी वडामा सबैभन्दा थोरै, वडा नम्बर १९ बाट १९७ जनाले, त्यसपछि वडा नम्बर २० मा ३९४ र तेस्रोमा वडा नम्बर २४ मा ४०८ जनाले खोप लिएका छन् ।

त्यसपछि वडा नम्बर २१, २८, २३, २२, १८, ८, २५ र ३० मा क्रमशः ४१९, ४४२, ४८७, ५२५, ७०६, ७२९, ८१३ र ९०५ रहेका छन् । जेठ ११ गतेसम्म चल्ने खोपमा गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो मात्रा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने व्यवस्था गरिएको छ ।

यस अवधिमा हरेक दिन बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म पहिलो मात्रा लगाएको कार्ड लिएर पायक पर्ने खोप केन्द्रमा जानुपर्छ । दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ । नागरिकलाई सहजताका लागि सबै वडामा खोप केन्द्रको व्यवस्था गरिएको छ । 

पहिलो डोज जहाँसुकै लगाएको भए पनि दोस्रो डोज भने पायक पर्ने स्थानमा लगाउने व्यवस्था हुँदा नागरिकलाई सहज भएको छ । कामपामा अहिलेसम्म ५४ हजार ५६८ संक्रमितमध्ये १२ हजार ४१ सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाका कारण ३७२ जनाको मृत्यु भएको छ । ४२ हजार १५५ जना निको भएको तथ्यांकमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्