
जापानमा तीव्र गतिमा गुडिरहेको बुलेट ट्रेनका चालकलाई दिसाले च्यापेपछि ककपिट छोडेर हिँडेको घटना सार्वजनिक भएको छ ।
चालक अनुमतिपत्र नपाएका कन्डक्टरलाई ककपिटमा राखेर चालक कैयौं मिनेटसम्म शौचालयमा बसेका थिए ।
त्यतिखेर ट्रेन १५० किलोमिटर प्रतिघन्टाको गतिमा गुडिरहेको थियो ।
हिकारी ६३३ ट्रेनमा त्यतिखेर १६० यात्रु थिए । यस घटनाले ट्रेन यात्रामा कुनै असर पारेको भने थिएन ।
तर रेलवे कम्पनीले यस विषयमा अधिकारीहरूलाई जानकारी दिएको छ र माफी समेत मागेको छ ।
घटना आइतवार बिहान भएको र त्यतिखेर ट्रेन शिजुओका प्रिफेक्चरमा गुडिरहेको सेन्ट्रल जापान रेलवे कम्पनीले जनाएको छ ।
३६ वर्षीय चालकलाई पेट दुखेर गाह्रो परेपछि शौचालयतिर दौडेका थिए ।
उनले कन्डक्टरलाई बोलाएर ककपिटमा कन्ट्रोलमा राखेका थिए अनि प्यासेन्जर क्याबिनको शौचालयमा लगभग तीन मिनेट बिताएका थिए ।
कम्पनीको नियमअनुसार, ट्रेन गुडिरहेको बेलामा चालकलाई असहज अनुभव भएमा ट्रान्सपोर्ट कमान्ड सेन्टरलाई खबर गर्नुपर्छ । कन्डक्टरलाई पनि कन्ट्रोल सम्हाल्न दिन मिल्छ तर कन्डक्टरसँग चालक अनुमपतिपत्र हुनुपर्छ ।
चालक र कन्डक्टरमाथि विभागीय कारवाही चलाइने रेलवे कम्पनीले जनाएको छ ।