
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गृहजिल्ला दोलखामा ‘होम आइसोलेसन किट’ पठाएका छन् ।
दोलखाबाट प्रतिनिधिसभामा निर्वाचित मन्त्री गुरुङले कोभिड–१९ संक्रमण भएको शंका लागेमा वा पुष्टि भएमा जिल्लाबासीले घरमै बसेर प्रारम्भिक चरणको उपचार गर्न होम आइसोलेसन किट सहितको स्वास्थ्य सुरक्षा सामग्री घरघरमा पुुग्ने गरी पठाएका हुन् ।
‘स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीको उपस्थितिमा वितरण गर्ने व्यवस्था मिलाइएको सो सामग्री संक्रमितले प्रारम्भिक चरणको उपचार घरैमा बसेर गर्न मिल्ने व्यवस्थासहित पठाइएको हो,’ उनले भने, ‘दोलखा हेल्थ फाउन्डेसनको सहकार्यमा जिल्लाका सबै स्थानीय तहमा आवश्यकताको आधारमा वितरण गरिने छ ।’
काठमाडौंबाट पठाइएको औषधि सहितको सो किटमा चिकित्सकको परामर्शमा संक्रमितका लागि अत्यावश्यक औषधि तथा स्वास्थ्य सुरक्षा सामग्रीहरू रहेका छन् । मन्त्री गुरुङले कोभिड संक्रमण हुुनेबित्तिकै हतास वा निराश हुने अवस्था आएकाले दोलखालीबासीलाई ढुक्क भएर स्वास्थ्य लाभ गर्न किटको व्यवस्था गरिएको बताए ।
काठमाडौंका अस्पतालमा संक्रमितको चाप बढ्न थालेपछि घरमै प्रारम्भिक चरणको उपचारको व्यवस्थाका लागि आवश्यक परामर्श लिन उनले आफ्नै सक्रियतामा दोलखा घर भई काठमाडौं लगायतका देशका विभिन्न भागमा रहेर काम गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रहेको सो फाउन्डेसनको स्थापना गरेका छन् ।