
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि हस्ताक्षर गर्ने पार्टीका सांसदलाई मान्यता नदिन राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार पठाएको पत्रमा पार्टीको निर्णय विपरित देउवाको पक्षमा कसैले गरेको पाइए त्यो पार्टीको विधान विपरित हुने र त्यसो गर्ने अधिकार सांसदलाई नरहने जिकिर गरेका छन् । उनले त्यस्ता सांसदमाथि कारबाही गरिने पनि बताएका छन् ।
‘पार्टी विधानले अरु दलको उम्मेदवारलाई समर्थन गर्ने अधिकार सांसदलाई दिएको छैन। तर केही सांसदले हस्ताक्षर गरेको सुनिएको छ। यसबारे हामीले छानबिन गरिरहेका छौं । छानबिन नहुँदासम्म कुनै प्रक्रिया अघि नबढाइयोस्’, ठाकुरले राष्ट्रपतिलाई पठाएको लिखित पत्रको आशय छ ।
यसअघि प्रधानमन्त्री केपी ओलीले पनि ओलीलाई सोही बेहोराको पत्र पठाएका थिए ।
नयाँ सरकार गठन गर्ने सन्दर्भमा एमाले र जसपाका केही सांसदले विपक्षी गठबन्धनलाई सघाएपछि सो पार्टीमा हंगामा मच्चिएको छ ।