१६ असार २०८३, मंगलबार

पत्रकार पक्राउ गर्नका लागि विमान ‘अपहरण’

जेठ १०, २०७८
पत्रकार पक्राउ गर्नका लागि विमान ‘अपहरण’

ग्रीसबाट लिथुनियातिर गइरहेको यात्रुवाहक विमानलाई आइतवार बेलारुसको राजधानी मिन्स्कमा आकस्मिक अवतरण गराइएको छ । 

विमानमा बम रहेको सूचना पाइएको भन्दै आकस्मिक अवतरण गरिएको हो । 

तर वास्तवमा रायनएयरको उक्त विमानमा रहेका २६ वर्षीय पत्रकार रोमन प्रोतासेभिचलाई पक्राउ गर्नका लागि विमानलाई मिन्स्कमा ओरालिएको हो । 
 

अन्लाइन फ्लाइट डेटाका अनुसार, विमान बेलारुसको हवाईक्षेत्रमा उडिरहेको बेलामा यसको बाटो डाइभर्ट गरेर मिन्स्क लगिएको हो ।

पत्रकार प्रोतासेभिच पोल्यान्डमा रहेको अन्लाइन न्युज सर्भिस नेक्स्टामा काम गर्थे । त्यसमा पोहोर साल बेलारुसका राष्ट्रपति लुकाशेन्कोविरुद्ध गरिएको व्यापक प्रदर्शनको भिडियो फूटेज प्रसारण गरिएको थियो । टेलिग्रम ​यापको मेसेन्जरमार्फत उक्त भिडियो पठाएर प्रसारण गरिएको थियो । 
 

प्रोतासेभिचविरुद्ध बेलारुसका अधिकारीहरूले दंगा भड्काउने प्रयास र सामाजिक घृणा फैलाउने काम गरेको आरोप लगाएका छन् । प्रोतासेभिचले आरोपको खण्डन गरेका छन् । 
 

बेलारुस प्रहरीले प्रोतासेभिचलाई पक्राउ गर्नुअघि उनले विमानमा सँगै रहेका यात्रुलाई काँप्दै भनेका थिए, ‘मलाई मृत्युदण्ड दिन्छन् होला ।’

दंगा भड्काएको आरोपको सजाय १५ वर्षको कारावास हुन्छ । 
 

प्रोतासेभिचलाई कहाँ राखिएको छ भन्ने खुलाइएको छैन । 

युरोपेली संघ तथा पश्चिमका अनेकौं मुलुकका अधिकारीहरूले पत्रकारलाई पक्राउ गरेकोमा बेलारुसी अधिकारीहरूको भर्त्सना गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्