
गाउँमै कोभिड अस्पताल सञ्चालन भएपछि सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाका स्थानीयवासी हर्षित भएका छन् ।
गाउँपालिका केन्द्र मुक्लीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएपछि स्थानीय हर्षित भएका हुन् ।
कोरोना संक्रमितलाई अक्सिजनसहित उपचार गर्ने व्यवस्था भएपछि अन्य अस्पताल पुग्नुपर्ने बाध्यताको अन्त्य भएको थुलुङदुधकोशी–४ जुबुकी मनमाया खत्रीले बताइन् । ४५ वर्षीया खत्री समेतलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीवार अस्पतालमा भर्न गरेपछि स्वस्थ बनेको खत्रीको भनाइ छ ।
नर्सिङ तेस्रो वर्षमा अध्ययनरत मनमायाकी छोरी रेजिना खत्रीले उपचारमा काठमाडांै जाने योजना बनाएको भए पनि गाउँमै उपचार सम्भव भएकोप्रति खुशी व्यक्त गरिन् । ‘यस्तो महामारी छ, कसरी जानुभन्ने चिन्ता थियो,’ उनले भनिन्, ‘खर्चसँगै समयको बचत र कम त्रासमा उपचार हुनु हामीजस्ता ग्रामीण क्षेत्रका नागरिकका लागि सुखद् पक्ष हो ।’
काठमाडौं विभिन्न अस्पतालमा अक्सिजन समेत नपाएर बिरामीको मृत्यु भएको खबरले आक्रान्त बनेको बेला गाउँमा सेवा पाउँदा नागरिकले सरकारलाई स्याबासी दिन्छन् ।
कोभिड–१९ संक्रमणको शंकास्पद लक्षण भएकी बुद्धिमाया माझीको पनि कोभिड अस्पतालमै उपचार सम्भव भएपछि स्थानीय सरकारलाई धन्यवाद दिइन् । श्वास फेर्न निक्कै गाह्रो भएर उपचारमा आएको उनँको भनाइ छ । टाढा अस्पताल जान नसक्ने अवस्थामा भएपनि गाउँमै सेवा पाउँदा आफ्नो ज्यान बचेको माझीेले सुनाइन् ।