भारतको कर्नाटकस्थित नागरथपेटमा एक युवकलाई बीबीएमपीका बूथस्तरीय कर्मचारीहरूले बेस्सरी कुटपिट गरेका छन् ।
युवक खासमा कोरोनाविरुद्धको खोप लगाउन गएका थिए । तर उनी झुक्केर कोभिड टेस्ट गराउनेको लाइनमा उभिन पुगेछन् ।
थाहा भएपछि उनी लाइनबाट निस्किए । तर लाइनबाट निस्कनेबित्तिकै बृहत् बेंगलुरु महानगरपालिकाका बूथ स्तरका कर्मचारीहरूले उनको रामधुलाइ गरे । 'टेस्ट नगराई किन निस्किस्' भन्दै उनीहरुले कुटपिट गरे ।
उनलाई कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि कुटपिट गर्ने अधिकारीमाथि छानबिनका लागि आदेश दिइएको छ ।
अधिकारीहरूविरुद्ध आईपीसीको धाराअन्तर्गत मुद्दा पनि चलाइएको छ ।