२७ जेठ २०८३, बुधबार

सरकारलाई दिएको समर्थनबारे निर्णय लिन सुदूरपश्चिममा एमाले संसदीय दलको बैठक जारी

सरकारलाई दिएको समर्थनबारे निर्णय लिन सुदूरपश्चिममा एमाले संसदीय दलको बैठक जारी

सरकारलाई दिएको समर्थनबारे निर्णय लिन सुदूरपश्चिम प्रदेश सभामा एमाले संसदीय दलको बैठक शुरू भएको छ ।

संसदीय दलको कार्यालय धनगढीमा दलको बैठक बसिरहेको छ ।

नेकपा एमाले स्थायी कमिटीको सोमवार बसेको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । केन्द्रको निर्णयबारे छलफल गर्न संसदीय दलको बैठक बसिरहेको एक सांसदले जानकारी दिए । 

५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेका २५ जना सांसद छन् । सभामुखबाहेक २४ जना सांसदमध्ये अधिकांश माधवकुमार नेपाल पक्षका छन् ।

माधव नेपाल पक्षले आफूहरूसँग १८ जना सांसद रहेको दाबी गरेको छ । पार्टीले मंगलवार नै संसदीय दलको बैठक बसेर निर्णय लिन निर्देशन दिए पनि मंगलवार बैठक बस्न सकेको थिएन ।

संसदीय दलका नेता प्रकाश शाह माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री छन् । संसदीय दलको नेता स्वयं सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने पक्षमा छन् । 

बुधवारको बैठकमा २० जना सांसद उपस्थित रहेका सहभागी एक नेताले जानकारी दिए । एमालेले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गरेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । प्रदेश सभामा माओवादी केन्द्रका १३ सांसद छन् । 

नेकपा एमालेको समर्थनमा माओवादी संसदीय दलका नेता भट्ट २०७४ सालमा सुदूरपश्चिम सरकारको मुख्यमन्त्री बनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्