साउदी अरबले मंगलवार अचानक इजरायली विमानहरूलाई आफ्नो हवाईक्षेत्रमा उडाउन प्रतिबन्ध लगाएको छ ।
त्यसले गर्दा दुबई जान लागेको इजरायल एयरलाइन्सको उडानमा पाँच घन्टा ढिलाइ भएको छ ।
साउदीले यस प्रतिबन्धको कुनै कारण खुलाएको छैन ।
इजरायलको विमान स्थानीय समयअनुसार बिहान ९ बजे उड्नुपर्ने थियो । तर साउदीले आवश्यक अनुमति दिन अस्वीकार गरिदियो ।
साउदीले गत नोभेम्बर महिनामा इजरायलका विमानहरूलाई दुबई जाने एयर रूटमा आफ्नो हवाईक्षेत्र प्रयोगको अनुमति दिएको थियो । तर मंगलवार तेल अभिभबाट दुबईतर्फ जान खोजेको विमान उड्नुभन्दा ठीक अघि साउदीको निर्णय आयो ।
साउदीको हवाई क्षेत्र प्रयोग गर्न नपाउँदा इजरायलको विमानलाई यूएई पुग्न तीन घन्टाको साटो आठ घन्टा लाग्छ ।
खाडीका विभिन्न मुलुकसँग इजरायलले पोहोर साल अब्राहम सन्धि गरेपछि साउदी पनि इजरायलप्रति लचिलो बनेको थियो । तर गत साता टुंगिएको इजरायल र प्यालेस्टाइनबीचको संघर्षले गर्दा साउदीले इजरायलप्रति पुनः कठोर दृष्टिकोण अपनाउन खोजेको देखिएको छ ।