
इरानी जलसेनाको सबभन्दा विशाल जहाजमा आगलागी भएर पछि त्यो ओमानको खाडीमा डुबेको विभिन्न समाचार संस्थाहरूले खबर दिएका छन् ।
इरानको फार्स र तस्निम समाचार संस्थाका अनुसार, खर्ग नामक जहाजलाई बचाउने सबै प्रयास विफल भएका थिए ।
आगो स्थानीय समयअनुसार बिहान २ बजेर २५ मिनेट जाँदाबाट लाग्न थालेको थियो । अग्निनियन्त्रकहरूले आगो निभाउन भरमग्दूर प्रयास गरेका थिए ।
जहाज जास्क नामक इरानी बन्दरगाह नजिक डुबेको थियो । त्यो होर्मुज जलसन्धिबाट नजिकै पर्छ ।
इरानको सामाजिक सञ्जालमा आएका तस्वीरमा नाविकहरूले लाइफ ज्याकेट लगाएर जहाजबाट भागेको देखिन्छ । सरकारी टीभी र अर्धसरकारी समाचार संस्थाहरूले खर्गलाई प्रशिक्षण जहाज भनेका छन् ।
अन्य जहाजलाई समुद्रमा तेल तथा अन्य सामग्री पुर्याउनका लागि खर्ग जहाज उपयोग गरिन्थ्यो । यसले भारी मात्रामा सरसामान लग्न सक्छ र यसबाट हेलिकप्टरहरू उडाउन पनि मिल्छ ।