
बुधवारका लागि बोलाइएको एमाले स्थायी कमिटीको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । बिहीवार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक स्थगित भएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन स्थायी कमिटी बोलाइएको थियो । मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टी एकताको लागि अन्तिमसम्म पहल गर्ने निर्णय गरेको थियो ।
पार्टी एकता जोगाउन भन्दै एमालेको संस्थापन पक्ष र माधव नेपाल पक्षका दोस्रो तहका नेताहरुले आजपनि अनौपचारिक कुराकानी गरेका छन् । माधव नेपाल पक्षका सांसदहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि एमाले बिवाद उत्कर्षमा पुगेको छ ।