
पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीवार एक भिडियो सन्देश जारी गर्दै आफू र पत्नी कोमल शाह पूर्ण स्वास्थ्य लाभको क्रममा रहेको जानकारी दिएका छन् ।
नाति हृदयेन्द्र शाहको इन्स्टाग्रामबाट जारी पत्नी कोमलसँगै बसेर खिचिएको भिडियो सन्देशमा पूर्वराजा शाहले भनेका छन्, ‘हाम्रो स्वास्थ्यबारे चिन्ता, चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहेका सबै नेपालीप्रति हामी आभार व्यक्त गर्दै यस महामारीमा दिनरात आफ्नो दायित्व र मानवीय कार्य गर्ने अग्रपंक्तिमा रहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्तामा अन्तरआत्मादेखि धन्यवाद दिन चाहन्छौं ।’
शाहले देशभित्र र बाहिर रहेको महामारीप्रति चिन्ता व्यक्त गरेका छन् । ‘अहिले हामी दुवै पूर्ण स्वास्थ्य लाभको क्रममा छौं तर देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित छौं,’ उनले भने, ‘महामारीको प्रक्रिया जारी छ, यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै संकल्प र बाहिरी सहयोग आवश्यक पर्दछ । प्राप्त अन्तर्राष्ट्रिय सहयोगका लागि पनि धन्यवाद दिन चाहन्छु ।’
शाहले सबै नेपालीलाई सुरक्षित रहन समेत आग्रह गरेका छन् । ‘म तपाईंहरू सबैसँग सुरक्षित, सावधान तथा स्वस्थ रहन आग्रह गर्दछु,’ उनले भने, ‘उपचारको क्रममा रहनुभएका सबै नेपालीहरूको शीघ्र स्वास्थ्य लाभसँगै यो महामारीमा जीवन गुमाउनेहरूका आत्माको चिरशान्तिको कामना गर्दछु । श्री पशुपतिनाथले ती सबै परिवारमा धैर्यधारणको लागि शक्ति प्रदान गरुन्, जय नेपाल !’