२९ जेठ २०८३, शुक्रबार

माओवादीद्वारा मारिएका छोरालाई न्याय दिलाउन गंगामाया अधिकारीले गरिन् अपील

माओवादीद्वारा मारिएका छोरालाई न्याय दिलाउन गंगामाया अधिकारीले गरिन् अपील

सशस्त्र द्वन्द्व चलिरहेको बेलामा १७ वर्षअघि माओवादीद्वारा चितवनमा मारिएको छोरो कृष्णप्रसाद अधिकारीलाई न्याय दिलाउनका लागि गंगामाया अधिकारीले सबै सरोकारवालासँग सोमवार मार्मिक अपील गरेकी छन् ।  

उक्त अपीलको पूर्णपाठ यसप्रकार छ : 

दाजुभाइ तथा दिदीबहिनीहरू,

प्रत्येक वर्ष जेठ २४ आउँदा म कस्तो अनुभूति गर्छु, मैले विगत १७ वर्षमा के कस्तो पीडा भोग्नुपरेको छ, न्यायको खोजीमा मैले के अनुभव गरें भनी म हजुरहरूको जानकारीका लागि पुनः लेखिरहेकी छु । एक निर्दोष बालक मारिने र उसको न्यायका लागि अनशन बस्ने क्रममा पिताको मृत्यु हुने देशमा न्याय प्रणाली ध्वस्त नहोस् भनी म संघर्षरत छु र तपाईंहरूको निरन्तर साथ र सहयोगको  अपेक्षा गरिरहेकी छु । 
 

तपाईंहरूमध्ये धेरैलाई थाहा छ, मेरो १७ वर्षीय छोरा कृष्ण प्रसाद अधिकारीलाई तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ताले २४ जेठ २०६१ मा अपहरणपश्चात् चितवनको बकुल्लहर चोकमा निर्ममतापूर्वक हत्या गरेका थिए । त्यस दिनदेखि आजसम्म सत्य र न्यायका लागि अथक संघर्ष गरिरहेकी छु । 

आफ्नो प्यारो छोरो निर्ममतापूर्वक मारिएको थाहा पाउनु जस्तो पीडा आमाबुवालाई अरू केही हुन सक्दैन । तर घटनाको अनुसन्धानमा सहयोग गर्ने, घटनाको सत्यतथ्य स्थापित गर्ने र घटनामा जिम्मेवार रहेकाहरूलाई सजाय दिने व्यक्ति र निकायले नै अपराधीहरूलाई संरक्षण गरेको देख्दा थप पीडित भएको महसूस गरेकी छु । । आफूले केही गर्न नसकेको, उल्टो आफ्नो परिवार, घर, सपना, भविष्य सबै भताभुङ्ग भएको तथा नमरुन्जेलसम्म पीडा र कष्ट भोग्नुपरेको अवस्था छ । 

सोह्र वर्षअघि मेरा पति नन्दप्रसाद अधिकारी र मलाई गोरखा फुजेलको घर छोड्न बाध्य बनाइयो । हामीले विभिन्न संघसंस्था, र सरकारलाई आफ्नो पीडादायी कथाव्यथा सुनाउँदा हामीलाई न्याय दिनका लागि पहल गरिन्छ कि भनी हामीले आशा गरेका थियौं । दुर्भाग्यवश, मैले आफ्नो पीडा सुनाउँदा सबैले सहानुभूति व्यक्त गरे तर अरू केही पनि ठोस काम गरेनन् किनकि मेरो छोरालाई मार्ने व्यक्तिहरू माओवादी पार्टीका कार्यकर्ता थिए र उनीहरू शक्ति र सत्तामा थिए ।  

सोह्र वर्षदेखि म एउटा सामान्य प्रश्नको उत्तर खोजिरहेकी छु : माओवादी पार्टीका कार्यकर्ता कानूनभन्दा माथि छन् ? हाम्रो संविधानले यसै भन्छ ? नेपालको कानूनले यसै भन्छ ? मानवअधिकारवादी संगठनहरूले यसलाई समर्थन गर्छन् ? संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले यसैलाई समर्थन गर्छन् ? 

घटनाको अनुसन्धान गरिएको र हत्याका लागि जिम्मेवार रहेका व्यक्तिहरूका विरुद्ध मुद्दा दायर गरिएको भनी मलाई  बताइएको थियो । अहिले आएर घटनामा संलग्न थिएनन् भनि अदालतले सबैलाई सफाइ दिएको भनी मलाई बताइएको छ । त्यसोभए मेरो छोराको अपहरण, यातना र हत्यामा को को संलग्न थियो त ? मलाई सत्य बताउनुपर्छ । घटनालाई ढाकछोप गर्न र पीडकलाई कानूनी कारबाहीबाट जोगाउन नभई सत्य पत्ता लगाउने तथा वास्तविक पीडकहरूलाई न्यायको दायरामा ल्याउने उद्देश्यका साथ यस घटनाको पुनः अनुसन्धान गरिएको देख्न मेरा लागि आवश्यक छ । 

म कसैसँग प्रतिशोध लिन खोजिरहेकी छैन । मेरो छोरालाई अपहरण गर्नेलाई म अपहरण गर्न खोजिरहेकी छैन, उनीहरूले छोरालाई यातना दिए जस्तो गरी म यातना दिन खोजिरहेकी छैन, उनीहरूले मेरो छोराको हत्या गरे जस्तो म उनीहरूको हत्या गर्न खोजिरहेकी छैन र अहिले मैले भोग्नुपरेको जस्तो पीडा उनीहरूले भोग्नुपरोस् भनी चाहेकी पनि छैन । म न्यायको खोजी गरिरहेकी छु, कसले छोराको हत्या गरेको हो भन्ने सत्यतथ्य जान्न खोजिरहेकी छु र हत्यामा संलग्न रहेकाहरूलाई कानूनबमोजिम कारवाही गराउन खोजिरहेकी छु ।

राज्यको कुनै पनि निकायले हाम्रो कुरा नसुनेपछि, हाम्रो पीडालाई वास्ता नगरेपछि मेरा पति र मैले २०६८ माघ २२ गते देखि सत्याग्रहको एक अंगका रूपमा आमरण अनशन शुरू गरेका थियौं । घटनाको अनुसन्धानमा कुनै प्रगति भएन भने अनशनकै क्रममा २०७१ असोज ६ गते मेरा पतिको मृत्यु भयो । मैले माया गरेका अर्का एक व्यक्ति राज्यको व्यवहारको कारण गुमाउनुपर्‍यो । म आफ्नो पीडा र कष्ट व्याख्या गर्न सक्दिनँ । तर मेरो मृत्यु हुनुअघि मैले छोराको हत्याको विषयमा सत्यतथ्य जान्ने आशा कायम राखेकी छु । न्यायको खोजीमा लागिरहने मेरो प्रण किञ्चित् पनि डगमगाएको छैन । सत्य पत्ता लगाउने विषयमा म थप प्रतिबद्ध तथा दृढप्रतिज्ञ बनेकी छु र अनेकौं बाधाव्यवधानका वावजुद  पनि संघर्ष जारी राखिरहेकी छु । 

मसँगै उभिन हिम्मत राख्ने तथा न्यायको प्राप्तिका लागि मैले गरेको संघर्षलाई आफ्नै संघर्षका रूपमा लिई मलाई हरसम्भव तरिकाले प्रोत्साहन तथा समर्थन गर्ने अधिवक्ता, मानवअधिकारवादी संघसंस्था तथा शुभचिन्तकहरूप्रति म अत्यन्तै आभारी छु । मेरो छोराको हत्या घटनाको स्वतन्त्र तथा सक्षम विज्ञहरूको टोलीबाट पुनः अनुसन्धान गराउनका लागि आवश्यक कानूनी सहयोग जुटाउन अधिवक्ता तथा शुभचिन्तकहरू समक्ष म फेरि एकपटक अपील गर्न चाहन्छु । यसका अलावा घटनाको पुनः अनुसन्धान गर्न तथा सबै पीडकलाई न्यायको दायरामा ल्याउनका लागि सहयोग गर्न म सबै अन्तर्राष्ट्रिय मानवअधिकार संगठन तथा संयुक्त राष्ट्रसंघसमक्ष आह्वान गर्दछु । 
 

आफना प्रिय निर्दोष छोराछोरी तथा आफन्त मारिएका तर न्यायका लागि संघर्ष गर्न नसकेका सबै आमाबुवा तथा आफन्तजनको पीडा अनुभव गर्न म सरोकारवाला व्यक्ति तथा संस्थाहरूसमक्ष अपील गर्दछु । तपाईंहरूको समर्थन तथा सहयोगका साथ म सबै बाधाव्यवधानका बावजूद मेरो छोराको हत्या गर्ने दोषीहरूलाई न्यायको दायरामा नल्याउन्जेलसम्मका लागि संघर्ष गरिरहनेछु । त्यसपछि मात्र मेरो छोरा र पतिको आत्माले शान्ति पाउनेछन् । 

सबैलाई धन्यवाद ।

गंगामाया अधिकारी 
वीर अस्पताल, काठमाडौं
२४ जेष्ठ २०७८
 

salt training

कमेन्ट गर्नुहोस्