११ असार २०८३, बिहीबार

सोनिया र राहुल गान्धीलाई झड्का दिँदै जितिन प्रसाद भाजपामा प्रवेश

जेठ २६, २०७८
सोनिया र राहुल गान्धीलाई झड्का दिँदै जितिन प्रसाद भाजपामा प्रवेश

भारतको उत्तर प्रदेशमा सन् २०२२ मा हुन लागेको विधानसभा निर्वाचनअघि भारतीय जनता पार्टीले कांग्रेसलाई ठूलो झड्का दिएको छ । 

केन्द्र सरकारमा मन्त्री रहिसकेका प्रभावशाली नेता जितिन प्रसाद बुधवार भाजपामा प्रवेश गरेका छन् । उनले भाजपाको केन्द्रीय कार्यालयमा केन्द्रीय मन्त्री पीयूष गोयलको उपस्थितिमा भाजपा प्रवेश गरेका हुन् । 

विश्लेषकहरूका अनुसार, भाजपाले उत्तर प्रदेशमा जितिनलाई ब्राह्मण अनुहारका रूपमा उपयोग गर्न लागेको छ । क्षेत्री समुदायका अजय विष्ट अर्थात् योगी आदित्यनाथको शासनमा ब्राह्मणहरू असन्तुष्ट रहेको र एक बलियो ब्राह्मण नेता आवश्यक रहेको अनुभव भाजपाले गरेको बताइएको छ । 

उत्तर प्रदेशको शाहजहाँपुरमा जन्मेका ४८ वर्षीय जितिन कांग्रेसका दिवंगत नेता जितेन्द्र प्रसादका छोरा हुन् । पिता जितेन्द्र कांग्रेसमा सोनिया गान्धीका विरुद्ध अध्यक्ष पदमा लडेर हारेका थिए । 

छोरा जितिन यूपीए सरकारका दुवै कार्यकालमा मन्त्री थिए । उनी सोनिया र राहुल गान्धीको निकटस्थ मानिन्थे ।

तर सन् २०१४ मा लोकसभा निर्वाचन हारेपछि उनको राजनीति कमजोर बन्दै गएको थियो । 

कांग्रेसले आफूलाई पर्याप्त इज्जत नदिएको भन्दै उनले बारम्बार असन्तुष्टि जनाउने गरेका थिए । अहिले आएर उनी भाजपाको शरण परेका छन् ।
 

ज्योतिरादित्य सिन्धियापछि कांग्रेसबाट भाजपा प्रवेश गर्ने उनी दोस्रा प्रभावशाली नेता हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्