०७ असार २०८३, आइतबार

पेरुको राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता कास्टिलोले जित्ने सम्भावना बढ्यो

जेठ २८, २०७८
पेरुको राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता कास्टिलोले जित्ने सम्भावना बढ्यो

पेरुमा भएको राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता पेड्रो कास्टिलोले अनुदारवादी प्रतिद्वन्द्वी केइको फुजीमोरीमाथि ६३ हजार भोटको झिनो अग्रता लिएका छन् । 
 

कास्टिलोको ५०.२ प्रतिशत मत छ जुन फुजीमोरीको भन्दा ०.३६ प्रतिशतको अग्रता हो । अहिलेसम्म ९९.४ प्रतिशत मतगणना भइसकेको छ । 
 

फुजीमोरीले मतगणनामा धाँधली गरिएको भन्दै हार मान्न गर्न अस्वीकार गरेकी छन् । 

राजनीतिक रूपमा सिकारु नै रहेका विद्यालय शिक्षक कास्टिलोले संविधान पुनर्लेखन गर्ने र उत्खननबाट प्राप्त सम्पत्ति पुनर्वितरण गर्ने प्रतिज्ञाका साथ जनताको मन जितेका हुन् । उनको यस प्रतिज्ञाले तामा खानी भएको पेरुका राजनीतिक तथा व्यापारिक सम्भ्रान्तहरू आत्तिएका छन् । 

‘जनता जागेका छन्,’ कास्टिलोले राजधानी लिमास्थित एक भवनको बाल्कोनीमा समर्थकहरूका अगाडि भाषण गर्दै भने । विभाजनकारी निर्वाचन अभियानपछि सबै जनतालाई एकजुट हुन पनि उनले आह्वान गरेका छन् । 
 

फुजीमोरीले हार स्वीकार नगरी शंकास्पद लागेका पाँच लाख भोट रद्द गर्न माग गरेकी छन् । 
 

कास्टिलोको पेरु लिब्रे पार्टीले शंकास्पद गतिविधिको कुनै प्रमाण नरहेको बताएको छ । 

स्वतन्त्र पर्यवेक्षकहरूले मतदान प्रक्रिया निष्पक्ष रहेको बताए । 

निर्वाचनको वैधतालाई निगरानी गर्ने संस्था नेसनल जुरी अफ इलेक्सन्सले मतगणनामा धाँधली गरेको भन्ने अनि प्रमाण पेश नगर्ने काम गैरजिम्मेवार भएको बताएको छ । 

कमेन्ट गर्नुहोस्