
सुदूरपश्चिम प्रदेश सभाको शुक्रवारको बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको छ ।
छलफलमा भाग लिने सत्तापक्षीय सदस्यले नीति कार्यक्रमका बुँदाहरूमा धेरै राम्रा कुरा समेटिएको र समयसापेक्ष भएको भन्दै नीतिअनुसारको बजेट विनियोजन गर्नुपर्ने बताए ।
उनीहरूले सरकारले नीति कार्यक्रममा विगतमा सञ्चालन भएका योजनाको उपलब्धि देखाएको भए पनि योजनास्थलमा यस्ता धेरै योजनामा उपलब्धि नदेखिएको भन्दै योजनाको प्रभावकारी कार्यान्वयन गर्न ध्यान जानुपर्ने बताए ।
छलफलमा भाग लिने सत्तापक्षीय सदस्यमा रतनबहादुर थापा, कुन्ती जोशी, लीलाधर भट्ट, महेशदत्त जोशी, माया तामाङ बोहरा, बलबहादुर सोडारी र कुलवीर चौधरी थिए ।
विपक्षी प्रदेशसभा सदस्यहरू गोविन्दराज बोहरा, भरतबहादुर खड्का र दिव्यश्वरी शाहले कोरोना महामारी र राजनीतिक अन्योलताले देश गम्भीर संकटमा परेको बेला ल्याइएको नीति कार्यक्रममा समेट्नुपर्ने विषय र मुद्दाहरू नसमेटिएकोतर्फ सुझाव दिए ।
उनीहरूले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गरी कार्यक्रम तथा योजनाको कार्यान्वयन गरेर परिणाम देखाउन सक्नु महत्त्वपूर्ण पक्ष हुने बताए ।
यसअघि मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारको नीति तथा कार्यक्रममाथि सभामा छलफल गरियोस् भनी पेश गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
नीति तथा कार्यक्रममाथि शनिवार समेत छलफल हुने कार्यसूची छ । प्रदेश प्रमुख गंगाप्रसाद यादवले बिहीवारको प्रदेशसभा बैठकमा प्रदेश सरकारको नीति कार्यक्रम प्रस्तुत गरेका थिए ।