
वाङ्यमय शताब्दी पुरुष सत्यमोहन जोशीको छातीमा समस्या देखिएपछि गत बुधवार साँझबाट ग्वार्काेस्थित किस्ट मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उनलाई छातीमा निमोनिया देखिएपछि भर्ना गरिएको कलेजका निर्देशक सुरज बज्राचार्यले बताए ।
उनले भने, ‘आज उहाँको अवस्था सामान्य भइसकेको छ । साविकसरह खानपिन पनि गर्न थालिसक्नुभयो । कोरोना रिपोर्ट नेगेटिभ आइसक्यो ।’
उनका भतिज तथा उद्योग वाणिज्य संघ ललितपुरका पूर्व अध्यक्ष अजरमान जोशीले शुक्रवार उनको स्वास्थ्यमा निकै सुधार भएको र आउँदो आइतवार घर फर्काइने सम्भावना रहेको बताए । गत वैशाख ३० गतेदेखि जोशी १०१ वर्ष पूरा गरी १०२ वर्षमा प्रवेश गरेका छन् ।
मुलुकमा बढ्दै गइरहेको दोस्रो लहरको कोरोना महामारीबीच जोशी निवास बखुम्बहाल पुगेर उनको जन्मोत्सवको अवसरमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सुस्वास्थ्य एवं दिर्घायुको कामना गरेका थिए ।
मदन पुरस्कारप्राप्त जोशीको मुहारअंकित १० रुपैयाँको हुलाक टिकट पनि प्रकाशन भइसकेको छ । जोशीको नाममा नेपाल राष्ट्र बैंक टक्सार महाशाखाबाट उनको तस्वीर अंकित चाँदीको विभिन्न सिक्का समेत निष्कासन भइसकेको छ ।