२५ जेठ २०८३, सोमबार

निर्माण व्यवसायी समृद्धिका ‘पिल्लर’ हुन् : उपप्रधानमन्त्री पौडेल

असार १, २०७८
निर्माण व्यवसायी समृद्धिका ‘पिल्लर’ हुन् : उपप्रधानमन्त्री पौडेल
फाइल फोटो

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीलाई समृद्धिका ‘पिल्लर’को संज्ञा दिँदै प्रतिकूल अवस्थामा समेत जारी कामको प्रशंसा गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधि मण्डललाई भेट्दै उपप्रधानमन्त्री पौडेलले निर्माण व्यवसायी विना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताए ।

गुणस्तरीय काम समयमा नै सम्पन्न गर्न सुझाव दिँदै उपप्रधानमन्त्री पौडेलले ‘लो कस्ट’मा टेन्डर बिड गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राखे ।

आर्थिक वर्ष २०७८/७९ को बजेटका सम्बन्धमा महासंघले पेश गरेको लिखित सुझावपत्र कार्यान्वयनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता पनि उपप्रधानमन्त्री पौडेलले जनाए ।

महासंघ प्रतिनिधिमण्डलले सार्वजनिक खरिद नियमावली २०६४ को छैठौंदेखि दशौं संशोधन समेतबाट म्याद थप भएका वा नभएका र तत्पश्चात समेत खरिद सम्झौता भई सञ्चालनमा रहेका वा सम्पन्न भई म्याद थप हुन नसकी भुक्तानी हुन नसकेका सम्पूर्ण निर्माण आयोजनाको म्याद २०७८ कात्तिक मसान्तसम्म स्वतः थप गर्नुपर्ने महासंघको माग छ । 

गत वर्ष र यस वर्षको कोभिडको कारण, वर्षातको समय, सिजनअनुसार हुने कार्य र त्यसपछिका चाडबाडका कारण काम गर्ने मुख्य २ सिजन नै उपयोग हुन नसकेको हुँदा अब आउने काम गर्ने सिजन २०७८ कात्तिक मसान्तदेखि २०७९ असारसम्मको समय उपयुक्त हुने भएकोले सबै ठेक्काको म्याद सम्बन्धित् सार्वजनिक निकायका अधिकारीले थप गर्ने निर्णय मितिबाट गणना हुने गरी २०७९ असार मसान्तसम्म र त्यसभन्दा बढी म्याद आवश्यक पर्ने निर्माण आयोजनाको हकमा प्राविधिक पुस्ट्याइएको आधारमा आवश्यकता अनुसार म्याद थप गरिनुपर्ने सुझाव उपप्रधानमन्त्री पौडेल समक्ष पेश गरिएको छ । 

बजेटमा उल्लेख भएअनुसार बैंक जमानत पेश गरेपछि ५० प्रतिशत धरौटी रकम फिर्ता गरिने प्रावधानको सट्टा शतप्रतिशत फिर्ता गर्दा राज्यलाई कुनै घाटा नहुने र कोभिड–१९ संक्रमणका कारण असहज अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन शतप्रतिशत धरौटी रकम फिर्ता हुनुपर्ने माग व्यवसायीको छ । 

बैंकमा थुप्रिएको रकम बजारमा आई सरकार र निर्माण व्यवसायी दुवैलाई राहत पुग्ने महासंघको धारणा छ । आयकर ऐन २०५८, मूल्य अभिवृद्धि कर ऐन २०५२ र अन्तःशुल्क ऐन २०५८ बमोजिम २०७६ साल असार मसान्तसम्मको बक्यौता रहेको कर रकम र त्यसमा लागेको ब्याज रकम २०७८ पुस मसान्तभित्र दाखिला गरेमा शुल्क, जरिवाना तथा थप दस्तुर मिनाहा हुने व्यवस्थालाई अर्थ मन्त्रालयमार्फत् आन्तरिक राजस्व कार्यालयबाट स्पष्टरूपमा कार्यान्वयन गरिनुपर्ने महासंघको सुझाव छ । 

बजेटमा पुनःकर्जा उल्लेख भए बमोजिम कोभिड–१९ का कारणले गत वर्ष र यस वर्ष देशमा भएको बन्दाबन्दी तथा निषेधाज्ञाले गर्दा विकास निर्माण लामो समय हुन नसकी खर्च धान्न कठिन हुन जाने भएकोले साना तथा मझौला निर्माण व्यवसायी समेतलाई ध्यानमा राखी ठेक्का कर्जामा लिमिट थप गरी उक्त पुर्नकर्जाको सुविधा पाउने गरी स्पष्ट पारी कार्यान्वयन गरिदिन महासंघले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्