अविरल वर्षासँगै सिन्धुपाल्चोकका विभिन्न स्थानमा भीषण बाढी आएको छ । बाढीका कारण कम्तीमा ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित लार्के र याङ्ग्रीमा पहिरो गएको छ । पहिरोका कारण इन्द्रावती नदी थुनिन पुगेको छ भने जसका कारण तिपेनी बजारमा बाढी पस्नुका साथै आसपासका क्षेत्रमा जोखिम बढेको छ ।
घटनास्थलमा सुरक्षाकर्मीले जाने प्रयास गरिरहेको बाढीमा कारण समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
यसैगरी मेलम्ची नदीको मुहानस्थल नाकुतेबाट बढ्दै आएको मेलम्ची नदीले हेलम्बु २ तिम्बु, किउल, चनौटे, ग्याल्थुम र मेलम्ची आसपासका क्षेत्रका केही घर बगाएको छ । यस्तै सडक र पुल पनि बगाएको बताइएको छ ।
प्रहरीका अनुसार ३ दिनदेखि भएको वर्षापछि मेलम्चीमा आएको बाढीले कम्तिमा ६ जनालाई बगाएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले ६ जनालाई बगाएको जानकारी आएको बताए । यद्यपी पूर्ण विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।
इलाका प्रहरी कार्यालय मेलम्चीकाले मेलम्ची बजारमा जोखिमयुक्त स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताएको छ ।
यस्तै मेलम्ची खानेपानी सुरुङको ड्याम र नेशनल हाइड्रोपावरको ड्याममा क्षति पुगेको बताइएको छ । राति पानीको बहाव झनै बढेर मेलम्ची पार्कभित्र रहेको मन्दिर समेत पुरिएको बताइएको छ ।
सिन्धुपाल्चोक वर्षेनी बाढी पहिरोको चपेटामा पर्दै आएको छ ।