
प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण हाल उत्पन्न बाढी पहिरोबाट थप जनधनको क्षति रोक्न समन्वयात्मक कार्य गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएका छन् ।
सरकारले विपद् पूर्व नै सम्भावित जोखिमको आँकलन गरी तयारी गरिरहेको र हाल सोही अनुरुप कार्य भइरहेको पनि प्रधानमन्त्रीले बताए ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बुधबार सम्पन्न छैठौं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाध्यान्न, लत्ता कपडा, औषधि र पानीको व्यवस्था गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकमा प्रधानमन्त्रीले उद्धार र राहत कार्यमा अपांगता भएका, जेष्ठ नागरिक, बालबालिका र महिलालाई विशेष ध्यान दिन पनि निर्देशन दिए ।
यसै गरी ठूलो संख्यामा जनतालाई सुरक्षित स्थानमा सार्दा उनीहरु मै कोभिड १९ संक्रमणको जोखिमलाई समेत ध्यानमा राख्नु पर्ने पनि बताए । उद्धारका लागि विभिन्न प्रविधिका पानीमा चल्ने साधनका साथै स्थानीय स्तरमा बन्ने संशाधन प्रयोग गर्न पनि उनले जोड दिए ।
सो क्रममा प्रधानमन्त्रीले राहत वितरणमा अनियमितता हुन नदिनका लागि अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने धारणा पनि राखे ।
यसै गरी तराईमा डुबानको सम्भावना भएका स्थानमा संयुक्त सिमावर्ती टोलीसँग कुरा गरी तत्काल आवश्यक कार्य गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिए भने पहाडी भेगमा नयाँ स्थानमा बाटो खन्ने वा डोजर लगाउने कार्य तत्काल रोक्नुपर्ने निर्देशन पनि प्रधानमन्त्रीले दिए ।
बैठकमा सम्बद्ध मन्त्रीहरु, प्रधानसेनापति लगायतका सुरक्षा निकायका प्रमुखहरु, मुख्य सचिव एवं सम्बद्ध निकायका प्रमुखहरुले विपद व्यवस्थापनका लागि आआफ्नो निकायबाट भएका प्रयासको जानकारी दिनुको साथै स्थानीय निकायको परिचालन आवश्यक सवारी साधन तथा एयर बेसको व्यवस्था एवं राहत तथा उद्धारमा एकद्वार प्रणाली लागू गर्न समेत सुझाव दिएका थिए ।