३२ असार २०८३, बिहीबार
जसपा विवाद

जसपा दल आधिकारिकताका लागि निर्वाचन आयोग जाने उपेन्द्र पक्षको निर्णय

असार ३, २०७८
जसपा दल आधिकारिकताका लागि निर्वाचन आयोग जाने उपेन्द्र पक्षको निर्णय

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले दलको आधिकारिकता प्राप्त गर्नका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ ।

बिहीवार बसेको पार्टी कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको कार्यकारिणी समिति सदस्य रामसहाय यादवले लोकान्तरलाई जानकारी दिए ।

पार्टीबाट निष्कासित गरिएका व्यक्तिबाट दलको लेटर प्याड, छाप, निर्वाचन चिह्न दुरुपयोग भइरहेको भन्दै आधिकारिकता प्राप्त गर्ने प्रक्रियामा जाने निर्णय भएको छ ।

बैठकले संगठनको आन्तरिक कामकारवाही सक्रिय बनाउन मृगेन्द्रकुमार सिंह यादवको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा रामसहाय यादव, राणध्वज कान्दवा, गंगानारायण श्रेष्ठ, रेणु यादव, हिसिला यमी, ईश्तियाक राई सदस्य छन् ।

बैठकले प्रतिगमनकारी कदमविरुद्ध जसपाका सम्पूर्ण संगठन परिचालन हुने निर्णय समेत गरेको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सरकारसँग माग गर्र्ने निर्णय पनि गरिएको छ ।

कूल ५१ सदस्यीय कार्यकारिणी समितिमध्ये बैठक ३० जना उपस्थित रहेका यादवले बताए । अर्का अध्यक्ष महन्थ ठाकुरले बैठकलाई अवैधानिक र अनाधिकृत भन्दै विज्ञप्ति जारी गरेका थिए ।
 
संघीय सरकारमा सहभागी भएका जसपाका मन्त्रीहरूलाई स्पष्टीकरण सोधिएकोमा जवाफ दिने समय बाँकी नै भएकाले समय सकिएपछि थप निर्णय हुने यादवले बताए । पार्टीले स्पष्टीकरण दिन ७ दिनको म्याद दिएको थियो ।

लुम्बिनी प्रदेशमा पुनर्बहाली भएका ४ सांसदले दलको ह्वीप विपरीत प्रदेशसभा प्रस्तुत भएकोमा पुनः स्पष्टीकरण सोधिएको छ । यसअघि दलबाट निष्कासन गरिएका चारै सांसदलाई सर्वाेच्च अदालतको अन्तरिम आदेशले पुनर्बहाली गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्