
काठमाडौं, २२ जेठ — साउदी अरब, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्सले सोमवार कतारसँग कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका छन् । दोहाले आतंकवादलाई प्रोत्साहन गरेको भन्दै अरब क्षेत्रमा तनाव बढ्दै जाँदा यो कदम चालिएको हो ।

साउदी न्युज एजेन्सी एसपीएले रियादले आफ्नो छिमेकीसँग कूटनीतिक सम्बन्ध तोडेको र सीमा बन्द गरेको बतायो । आफ्नो देशलाई आतंकवाद र अतिवादको खतराबाट सुरक्षित पार्नका लागि यो कदम चालिएको साउदी बताउँछ ।
एसपीएले एक साउदी अधिकारीलाई उद्धृत गर्दै लेख्यो, ‘कतारसँग सबै कूटनीतिक र महावाणिज्य सम्बन्ध तोडिएको छ अनि जमीन, समुद्र र हवाई अड्डाहरू बन्द गरिएका छन् ।’
साउदी सँगसँगै इजिप्ट, युएई र बहराइनले पनि आतंकवादको हवाला दिँदै ऊसँगको सम्बन्ध तोडेको घोषणा गरेका छन् ।
कतारले आतंकवादमा लगानी गरेको भनी हालैका हप्तामा सिधै आरोप लगाइएका लेखहरू अमेरिकी सञ्चारमाध्यममा प्रकाशित भएका छन् ।
त्यसो त हमास र अफगान तालिबानले दोहामा कार्यालय नै खोलेका छन् ।
सन् २०२२ मा फूटबलको विश्वकप आयोजना गर्न लागेको कतार इस्लामिक स्टेट आतंकवादी समूहलाई हराउने अमेरिकी नेतृत्वको गठबन्धनमा पनि आबद्ध छ ।
एएफपीबाट