
नेपाली कांग्रेसले बागमती प्रदेश सभामा सदस्य नरोत्तम बैद्यले जेठ २८ गते प्रदेश सभामा दिएको अभिव्यक्ती संसदमा फिर्ता लिएर संसदको रेकर्डबाट हटिसकेपछि पनि उनीविरुद्ध जाहेरी दर्ता गरेको भन्दै आपत्ति व्यक्त गरेको छ ।
संसदमा बोलेको विषय संसदको नियम अनुसार संसदमै टुंगिसकेपछि जाहेरी दर्ता गर्नु सरकारको बदनियत भएको कांग्रेसको आरोप छ ।
बिहीवार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले प्रस्ताव पारित गर्दै संविधानको प्रतिकुल हुने गरी कुनै पनि प्रक्रिया नगर्न, नगराउन नेपाली कांग्रेस सरकारलाई सचेत गराएको हो । सरकारका नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा सांसद वैद्यले भारतमा महात्मा गान्धी जस्तै नेपालका प्रधानमन्त्रीलाई सिद्धाउन नाथुराम गोड्से आवस्यक रहेको बताएका थिए ।
‘..कोही नाथुराम गोड्से आवस्यक पर्यो है यो देश बचाउनको लागि, कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?’ भन्ने अभिव्यक्ती दिएका थिए । उनको सो अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो ।
‘संसदमा बोलेको विषय संसदको नियम अनुसार संसदमै टुंगिसकेपछि पनि, उक्त विषयलाई लिएर आग्रहका साथ मा। नरोत्तम वैद्य विरुद्ध दिएको जाहेरी दर्ता गर्नु र प्रक्रिया अगाडि वढाउन खोज्ने वदनियतप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ’ कांग्रेसले पारित गरेको प्रस्तावमा भनिएको छ ।
नेपालको संविधानको धारा १८७ ले “प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा निज उपर कुनै अदालतमा कारवाही चलाइने छैन” भन्ने कुरा स्पष्ट गरेको कांग्रेसको जिकिर छ ।
‘यस उपर सभामा अभिव्यक्ति दिने सदस्य स्वयंले आफुले बोलेको विषय संसदको रेकर्डबाट हटाउन माग गरेको र सभामुखले हटाउन आदेश दिएर, संसदको विषय संसदमै टुंग्याइसकेपछि पनि सरकारको ठाडो निर्देशनमा प्रदेश सभा सदस्य विरुद्ध उजुरी लिई कारवाहीको प्रक्रिया अगाडि बढाउनु प्रदेश सभाको विशेषाधिकार विरुद्ध हो, संविधान विपरित हो भन्ने कांग्रेसको ठहर छ’ प्रस्तावमा भनिएको छ ।