
गण्डकी प्रदेशमा सत्ता गुमाएर प्रतिपक्षीमा पुगेको नेकपा एमालेका सांसदहरु नयाँ सत्ता गठबन्धनप्रति आक्रामक देखिएका छन् ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत माग्ने प्रस्ताव माथिको छलफलका क्रममा एमाले सांसदहरुले गठबन्धनको चर्को आलोचना गरेका हुन् ।
एमाले सांसद राजीव पहारीले अहिलेको सरकार केन्द्रका नेताहरुको स्वार्थ मिल्दा रिमोटबाट बनेको र यसले प्रदेशमा समृद्धि ल्याउन नसक्ने आरोप लगाए । ‘खुर्सानीको विउ रोपेर सुन्तला फल्छ ? रिमोटबाट चलेको हासको चाल न कुखुराको चालको यो सरकारले प्रदेशको समृद्धि ल्याउन सक्छ ?’ पहारीले भने ।
सरकार गठन भएको दिनदेखि नै सत्तापक्षका सांसदहरुले जथाभावी बोलिरहेको आरोप लगाए । ‘यसअघि माननीय सदस्यहरुले भनिसक्नु भएको छ । यो गठबन्धन तेल र पानीको समिश्रण हो, न खान मिल्छ न गाडि चल्छ ?’ पहरीले भने ।
मुख्यमन्त्री नियुक्ति भएको ६ दिनमै विश्वासको मत लिन हतार गर्नु केवल सत्ता सुरक्षाको हतारो भएको उनले आरोप लगाए ।
एमालेकै धनञ्जय दवाडीले कांग्रेसलाई प्रधान शत्रु घोषणा गरेको माओवादीसँगको गठबन्धनले निकास नदिने टिप्पणी गरे । एमालेका कृष्णबहादुर थापाले यो सरकार गठन भएदेखि प्रदेशमा अनिष्ट भएको र बाढी पहिरो आएको आरोप लगाए ।