०४ असार २०८३, बिहीबार

कुमार पौडेलको गैरन्यायिक हत्यामा निष्पक्ष स्वतन्त्र अनुसन्धान गर्न सरकारलाई अधिकारवादी संगठनको आग्रह

कुमार पौडेलको गैरन्यायिक हत्यामा निष्पक्ष स्वतन्त्र अनुसन्धान गर्न सरकारलाई अधिकारवादी संगठनको आग्रह

सर्लाही जिल्ला निवासी तथा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज रहेका कुमार पौडेल मारिएको शनिवार दुई वर्ष पुगेको अवसरमा मानवअधिकारवादी संस्था एड्भोकेसी फोरमले उनलाई न्याय दिलाउन सरकारसमक्ष आग्रह गरेको छ ।

उक्त अवसरमा प्रकाशन गरेको प्रेस विज्ञप्तिको पूर्णपाठ यसप्रकार छ :

२०७६ असार ५ गते लालबन्दी नगरपालिकाको वडा नं. १ स्थित लखनदेही जंगलमा नेपाल प्रहरीका अधिकृतहरूले उनलाई नियन्त्रणमा लिएपछि हत्या गरिएको थियो । पौडेलको हत्याका विषयमा तत्काल तथा स्वतन्त्र अनुसन्धान गर्नुपर्ने आफ्नो मागलाई एड्भोकेसी फोरम–नेपाल दोहोर्‍याउन चाहन्छ । पौडेल तथा उनको परिवारलाई न्याय सुनिश्चित गर्न एड्भोकेसी फोरम नेपाल सरकारसँग आग्रह गर्दछ । 

पौडेल “दोहोरो भिडन्त”मा मारिएको भन्ने प्रहरीको दाबी छ । तर एड्भोकेसी फोरम तथा अन्य मानवअधिकार संगठनहरूले प्रकाशन गरेको स्थलगत अध्ययन प्रतिवेदनमा पौडेलको गैरन्यायिक हत्या गरिएको पाइएको  छ ।

राष्ट्रिय मानवअधिकार आयोगले पनि उक्त निष्कर्षलाई पुष्टि गर्दै यस घटनाको अनुसन्धानपश्चात् पौडेललाई गैरन्यायिक हत्या गरिएको निष्कर्ष निकालेको थियो । यस हत्यामा संलग्न प्रहरी अधिकृतहरू प्रहरी निरीक्षक कृष्णदेव प्रसाद शाह र हवलदारद्वय विनोद शाह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गर्न पनि आयोगले सिफारिश गरेको थियो । यी व्यक्तिहरूका विरुद्ध औपचारिक

रूपमा फौजदारी मुद्दा दायर गर्नुका साथै प्रहरी निरीक्षक किरण प्रसाद न्यौपाने र प्रहरी सहायक निरीक्षक सूर्यकुमार कार्कीले घटनास्थल मुचुल्का गर्दा गरेका त्रुटिका लागि सचेत गर्न समेत आयोगले सिफारिश गरेको थियो ।

दुर्भाग्यवश, आयोगका सिफारिश कार्यान्वयन गर्नुको साटो गृह मन्त्रालयले राष्ट्रिय मानवअधिकार आयोगलाई आफ्नो सिफारिशको समीक्षा गरी पुनर्विचार गर्न आग्रह गरेको थियो । सरकारले राष्ट्रिय मानवअधिकार आयोगको सिफारिश कार्यान्वयन गर्न देखाएको उदासीनताप्रति एड्भोकेसी फोरम भत्र्सना गर्दै  आयोगले गरेको सिफारिश तत्कालै कार्यान्वयन गर्न सरकारसमक्ष आग्रह गर्दछ । 

२०७६ कार्तिकमा नेपाल सरकारले संयुक्त राष्ट्रसंघका तीन विशेष प्रतिवेदकहरूका तर्फबाट एक संयुक्त पत्र प्राप्त गरेको थियो । त्यसमा उनीहरूले कुमार पौडेलको हत्यामा स्वतन्त्र न्यायिक अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका थिए । सरकारले उक्त पत्रको जवाफ २०७६ पुस १८ मा दिँदै सबै आरोप खण्डन गरेको थियो र आत्मरक्षाका लागि प्रहरीले पौडेलमाथि गोली चलाएको दाबी गरेको थियो । 

सर्लाही जिल्ला प्रहरी कार्यालयमा उजुरी दायर गर्नका लागि गरिएका विभिन्न प्रयास विफल भएपछि पीडितको परिवार २०७७ मंसिर १२ मा सर्वोच्च अदालतसमक्ष रिट निवेदन दायर गर्न बाध्य भएका थिए । सर्वोच्च अदालतले यस मुद्दामा कुनै फैसला दिइसकेको छैन र अदालती प्रक्रिया कोभिड–१९ महामारीका कारण तत्कालका लागि स्थगन गरिएको छ । पौडेलको न्यायका लागि प्रयास गरिरहेका पीडित परिवारले धम्की तथा त्रास खेप्नुपरिरहेको छ ।

पीडाको यस समयमा यस्तो धम्की उनीहरूका लागि भयावह तथा कष्टपूर्ण अनुभव हो । त्यसैले उजुरी दर्ता गर्नका लागि प्रहरी कार्यालयलाई दबाब दिन तथा पीडकहरूलाई न्यायको दायरामा ल्याउनका लागि अनुसन्धान गर्न एड्भोकेसी फोरम नेपाल सरकारसमक्ष आह्वान गर्दछ । उजुरी तथा अनुसन्धान गर्नु नेपाल प्रहरीको स्पष्ट तथा अनिवार्य कर्तव्य हो भनी एड्भोकेसी फोरम प्रस्ट पार्दछ । 
 

जवाफदेहिताको अभाव तथा निरन्तर दण्डहीनता नेपालको न्याय प्रणालीमा थप संस्थागत बनेर रहेको तथ्यप्रति एड्भोकेसी फोरम सरकारको ध्यानाकर्षण गराउन चाहन्छ । तत्काल, निष्पक्ष तथा स्वतन्त्र अनुसन्धानमार्फत पीडित र उनको परिवारलाई न्याय दिलाउन तथा यस जघन्य अपराधका पीडकलाई न्यायको दायरामा ल्याउन सरकारले यथाशीघ्र कदम चाल्न एड्भोकेसी फोरम आग्रह गर्दछ ।
 

salt training

कमेन्ट गर्नुहोस्