
नेपाल मजदूर किसान पार्टीकाअध्यक्ष नारायणमान बिजुक्छेँले नेपालको चुरे क्षेत्रको बालुवा, ढुंगा, गिटी अधिकांश भारतमा निर्यात गर्दा नेपाली भूमि डुबानमा परिरहेको बताएका छन् । भक्तपुर नगरपालिकाको दशौंँ नगरसभाको आज उद्घाटन गर्दैै उनले नेपाल सरकारले विदेशीलाई मात्र फाइदा पुग्ने गरी कुनै पनि काम गर्न नहुनेमा जोड दिए ।
जनताको अमूल्य मतबाट विजयी जनप्रतिनिधिले जनअपेक्षानुरुप कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै उनले नगरपालिकाको नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकको आदर निकेतन सञ्चालन गर्ने विषयमा जनस्तरबाट सुझाव र व्यापक छलफल आवश्यक रहेको औँल्याए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आव २०७८÷७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनताको आर्थिक सहयोगमा निर्माण भएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन विभिन्न रोगबाट पीडित भक्तपुर नगरवासीका लागि २०७९ असार मसान्तसम्म निःशुल्क वितरण गरिने घोषणा गरे ।