काठमाडौं, २३ जेठ- सुनसरीकी २३ वर्षीया रविना चौधरी वसुन्धरास्थित पञ्चाइन बोर्डिङमा पढाउन सोमबार बिहान नौ बजे सुकेधारास्थित घरबाट निस्किइन् । चक्रपथ चल्ने बस चढेर वसुन्धरामा ओर्लिइन् । चक्रपथबाहिर रहेको स्कुल जान जेब्रा क्रसिङबाट बाटो पार गर्न लाग्दा तीव्रगतिमा आएको यात्रुवाहक बसले उनलाई ठक्कर दियो ।

घटनास्थलमै उनको निधन भयो । डेढ महिनाअघि मात्र जागिर खान सुरु गरेकी रविनाको बसको लापरबाहीका कारण ज्यान गएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा पैदल यात्रुलाई यात्रा गर्न सिकाइरहेका बेला जेब्रा क्रसिङमै पैदलयात्रु मारिएपछि ट्राफिक प्रहरीलाई टाउको दुखाइ बनेको छ । 'निकै दुःखद घटना भएको छ । हामीले यत्रो अभियान चलाइरहेका बेला जेब्रा क्रसिङमै पैदलयात्रु मारिनुमा सवारीसाधनको चरम लापरबाही देखिएको छ । यस घटनालाई हामीले निकै संवेदनशील रूपमा लिएका छौं', ट्राफिक प्रहरी महाशाखा प्रमुख डीआईजी मिङमार लामाले भने । उनले काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी कार्यालयसँग घटनाका अपराधीलाई सख्त कारबाही गर्न अनुरोध गरेको बताए । दोषी धरौटीमा समेत नछुट्ने उनको भनाइ छ।
वीरगन्ज-काठमाडौं चल्ने ना.४ख ४२६२ नम्बरको रात्रिकालीन यात्रुवाहक बसले रविनालाई ठक्कर दिएको हो ।
यी हुन् 'ब्ल्याक स्पट'
ट्राफिक महाशाखाले उपत्यकामा बढी दुर्घटना हुने क्षेत्रलाई 'ब्ल्याक स्पट' घोषणा गरेको छ । यो सूचीमा कालिमाटी-कलंकी खण्ड, महाराजगन्ज-बसुन्धरा खण्ड, चप्पल कारखानाअगाडि, गोपीकृष्ण-चाबहिल खण्ड, सुकेधारा-धुम्बाराही खण्ड, त्रिभुवन विमानस्थलको कार्गोअगाडि, तिलगंगाअगाडि, बाफल-हल्चोक खण्ड, बबरमहल-माइतीघर खण्ड, माछापोखरी क्षेत्र, गुर्जुधारा ओरालो, त्रिभुवन पार्कअगाडि, कोटेश्वर-मुनीभैरव क्षेत्र, गैरीगाउँ, ढुंगेअड्डा-नैकाप क्षेत्र, बौद्ध-जोरपाटी ओरालो, साँखुको नाङ्लेभारे-लप्सीफेदी खण्ड, बूढानीलकण्ठको चपली घुम्ती, धोबीघाट, हात्तीवन, सल्लाघारीको एसओएस जाने बाटो र मनोहरा पुल-लोकन्थली क्षेत्र छन् ।
फाइल तस्बिर