काठमाडौँ, १३ पुस - नेपाल रेडक्रस सोसाइटीले यस वर्ष विभिन्न समुदायका ६० लाखभन्दा बढी नागरिकलाई सेवा पु-याएको बताएको छ ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले भूकम्प अतिप्रभावित १४ जिल्लालगायतका ३९ जिल्लामा सञ्चालित विभिन्न १३ प्रकारका जोखिम न्यूनीकरण कार्यक्रमबाट ६० लाख ४९ हजार १३२ जना लाभान्वित भएको बताए ।
चितवनको सौराहामा विपद् व्यवस्थापनसम्बन्धी समीक्षा बैठकमा केन्द्रीय अध्यक्ष थापाले भूकम्पपछिको तत्कालीन राहतस्वरुप करिब रु डेढ अर्ब पीडितको हातैमा पु-याउन सफल भएको रेडक्रसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल रेडक्रसले भूकम्पलगत्तै सरकारसँगको समन्वयमा अस्थायी आवासका लागि प्रतिपरिवार रु १५ हजार र जाडोमा न्यानो कपडाका लागि जनही रु १० हजार वितरण गरेको थियो ।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले मुलुकको बर्तमान सङ्घीय ढाँचाअनुरुप रेडक्रसको साङ्गठनिक संरचनामा परिवर्तन गर्न लागिएको जानकारी दिए ।
समीक्षा कार्यक्रममा गृहमन्त्रालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिले नेपाल रेडक्रसको समन्वयकारी भूमिकाको प्रशंसा गरेका थिए । उनीहरुले विपद्पछि रेडक्रसले खेलेको भूमिकाको सराहना गर्दै अब रेडक्रस विपद् न्यूनीकरणमा थप विस्तारित भएर लाग्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा ३९ जिल्लाका रेडक्रस सभापति, दातृ निकायका प्रतिनिधि, स्वयम्सेवक, कर्मचारीसहित १५० को सहभागिता रहेको छ ।