
क्यानडाको ब्रिटिश कोलम्बियामा आदिवासीहरूको भूमिमा बनेका थप दुईवटा रोमन क्याथोलिक चर्चमा शनिवार आगजनी गरेर ध्वस्त पारिएको छ ।
सिमिलकामीन क्षेत्रमा रहेका ती चर्चहरूमा शनिवार बिहान आगो लगाइएको थियो र ती डढेर सखाप भए ।
रोयल कनेडियन माउन्टेन पुलिसका अनुसार, बिहान चार बजे उनीहरूलाई सेन्ट यान्स चर्चमा आगो लागेको खबर आयो । अनि पौने पाँच बजे उनीहरूलाई चोपाका चर्चमा पनि आगो लागेको खबर आयो ।
गत जुन २१ मा राष्ट्रिय आदिवासी दिवसमा पनि दुईवटा चर्चमा आगो लगाइएको थियो ।
प्रहरीले यो आगजनी शंकास्पद भएको बताउँदै अनुसन्धान गर्ने वाचा गरेको छ ।
चर्चहरूले चलाउने आवासीय विद्यालय परिसरमा आदिवासी बालबालिकाका सामूहिक चिहानहरू फेला परेको एक महिनापछि यसरी चर्चहरूमा आगलागीका घटना सार्वजनिक भइरहेका छन् । चर्चले आदिवासीहरूमाथि गर्ने दुर्व्यवहारका विषयमा आदिवासीहरूमा आक्रोशको स्थिति छ ।
मारीभाल इन्डियन रेजिडेन्सियल स्कूलको प्रांगणमा २१५ जना बालबालिकाको सामूहिक चिहान फेला परेको हो ।