
अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवार राति धावनमार्गमा गुडिरहेको एक विमानबाट हाम्फालेका यात्रीलाई पक्राउ गरेर अस्पताल लगिएको छ ।
युनाइटेड एक्सप्रेसको उडान नं ५३६५ साल्ट लेक सिटीतर्फ जानलाई गुडिरहेको बेलामा यात्रु विमानबाट हाम्फालेका थिए ।
उनले शुरूमा ककपिटभित्र पस्न खोजेका थिए र पछि सर्भिस डोर खोलेर इमर्जेन्सी स्लाइडबाट निस्केका थिए ।
धावनमार्गमा उनलाई तत्कालै विमानस्थल अधिकारीहरूले हिरासतमा लिएका थिए । उनलाई आरम्भिक उपचार गरेर अस्पताल लगिएको थियो ।
घटनापछि विमान पुनः आफ्नै गेटतिर फर्केको थियो । तीन घन्टापछि मात्र विमान उड्न सकेको थियो । विमानमा रहेका अरू कोही पनि घाइते नभएको फेडरल एभिएसन एडमिनिस्ट्रेसनले जनाएको छ ।
घटनाको अनुसन्धानको जिम्मेवारी एफबीआईलाई दिइएको छ । त्यही विमानस्थलमा गत बुधवार पनि यसैगरी यात्रुले दुःख दिएर उडान रोकिएको थियो ।