०५ असार २०८३, शुक्रबार

विगत २ महिनादेखि बन्द सवारीसाधन सञ्चालनमा

असार १५, २०७८
विगत २ महिनादेखि बन्द सवारीसाधन सञ्चालनमा

दोस्रो चरणको महामारी फैलिएपछि कञ्चनपुरमा बन्द सार्वजनिक यातायात २ महिनापछि सञ्चालनमा आएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको सोमवारको बैठकको निर्णयअनुसार जनस्वास्थ्यका मापदण्ड अपनाएर जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन आएको हो ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकुमार महतोका अनुसार जिल्लाभित्र जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी मंगलवारदेखि बिहान ६ बजेदेखि साँझ ७ बजेसम्मका लागि सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ ।

स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएपछि सार्वजनिक सवारी बन्द भएका थिए । अत्यावश्यक सेवामा सञ्चालन हुने सवारीसाधन भने निर्वाधरूपमा सञ्चालन गर्ने दिइने भएको छ ।

जिल्ला बाहिर जाने एम्बुलेन्स र मालबाहक ढुवानीका साधनबाहेक अन्य सवारीसाधनको हकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट पास लिनुपर्ने छ । स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो गरी असार २१ गतेसम्म निरन्तरता दिएको छ । पसल खोल्ने समय ३ घण्टा बढाएर साँझ ६ बजेसम्म पुर्‍याइएको छ । यसअघि बिहान ६ देखि दिउँसो ३ बजेसम्म मात्रै पसल खोल्न दिने गरिएको थियो ।

औषधि, दूधसहित अत्यावश्यक सेवाका पसल भने निषेधाज्ञामा पनि खोल्न दिइएको छ । उद्योग तथा कलकारखाना सार्वजनिक तथा नीति निर्माणका कार्य जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णपालना गर्ने गरी सञ्चालन गर्न दिइने छ । कोरोना महामारीको संक्रमण दर कम हुन थालेपछि जेठ अन्तिम मसान्तदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको हो ।

खुला ठाउँमा भेला हुन, जुलुस, जात्रा, भीडभाड, सभा सम्मेलन, तालिम, गोष्ठीमा भने रोक लगाइएको छ ।

विवाह, ब्रतवन्ध तथा सामूहिक धार्मिक कार्यक्रममा १० जनाबाहेक त्यसभन्दा बढीलाई सहभागी हुन नपाइने भएको छ । शैक्षिक गतिविधि भौतिक उपस्थितिमा गर्न नपाइने नियम लागू गरिएको छ । तोकिएका सीमा नाका गड्डाचौकी र गौरीफण्टाबाट मात्रै भारतबाट आउने जानेलाई स्वास्थ्यका मापदण्ड अपनाई प्रवेश दिइने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्