
बीपी कोइराला मेमोरियल ट्रष्टले ‘बीपी कोइराला अध्ययन-अनुसन्धान केन्द्र’ भवन निर्माण गर्ने भएको छ । भवनको कांग्रेस सभापति शेरबहादुर देउवा, बीपीपुत्र डा. शशांक कोइराला र काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आज संयुक्त रूपमा शिलान्यास गरे ।
सो भवनका लागि महानगरपालिकाले दुई करोड रूपैयाँ आर्थिक सहयोग गरेको छ । त्यस्तै बागमती प्रदेश सरकारले ५० लाख र ट्रष्टको आफ्नै एक करोड लगानी रहने छ ।
थप रकम दाताबाट जुटाउने ट्रष्टले जनाएको छ। भवन निर्माणको लागत साढे चार करोड लाग्ने अनुमान गरिएको छ ।
काठमाडौं महानगरपालिका-५ को हाँडीगाउँमा भवन निर्माण हुँदैछ ।
शिलान्यास कार्यक्रममा कांग्रेस सभापति देउवाले बीपीको योगदानको कदर गर्दै भवन निर्माणका लागि काठमाडौं महानगरपालिका र अन्यले गरेको सहयोगप्रति पार्टीका तर्फबाट धन्यवाद व्यक्त गरे ।
‘बीपी राजनीतिक, साहित्यिक र सामाजिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो,’ उनले भने, ‘बीपीको सम्झना हामी सबैले गर्नुपर्छ, उहाँ विद्धान मात्रै होइन राष्ट्रवादी र समाजवादी नेता हुनुहुन्थ्यो ।’
देउवाले आगामी दिनमा आमनेपालीका लागि यो केन्द्र बीपीको ख्याति र उनका बारेमा अध्ययन-अनुसन्धान गर्ने केन्द्रका रुपमा दरिलो गरी उभिने अपेक्षा लिएको बताए ।
कांग्रेस महामन्त्रीसमेत रहेका बीपीपुत्र शशांकले बीपीको स्मृतिमा भवनको शिलान्यास भएको दिनलाई आफूले महत्त्वपूर्ण दिनका रुपमा लिएको बताए ।
काठमाडौं महानगरपालिका प्रमुख शाक्यले आफू कुनै समय बीपीलाई हेर्न र सुन्न सार्वजनिक कार्यक्रममा जाने गरेको स्मरण गरे । उनले कांग्रेस सभापति देउवातिर संकेत गर्दै दुर्घटनाबाट देशलाई बचाउन आग्रह गरे ।
ट्रष्टका महासचिव रामचन्द्र पोख्रेलले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाउन सफल बीपीलाई अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउन उनको स्मृतिमा अध्ययन-अनुसन्धान केन्द्र स्थापना गरिएको बताए ।