
काठमाडौं, २० मंसिर — भारतीय मूलका एक स्नातकोत्तर विद्यार्थीले अक्सफोर्ड विश्वविद्यालयविरुद्ध मुद्दा दर्ता गरेर एक लाख पाउन्ड क्षतिपूर्ति माग गरेका छन् ।

अक्सफोर्डका प्राध्यापकले असाध्यै नराम्रो र झर्कोलाग्दो गरी पढाएका कारण आफूले सेकेन्ड क्लास डिग्री लिनुपरेको अनि यसका कारण वकिलका रूपमा आफ्नो करीयरको ठूलो हिस्सा गुमाउनुपरेको उनको गुनासो छ ।
फैज सिद्दीकीले सन् २००१ मा अक्सफोर्डको ब्रासेनोज कलेजमा आधुनिक इतिहास पढेका थिए र उनले भारतमा साम्राज्यवादी शासनको विशेष कोर्स लिएका थिए । त्यस विषयका प्राध्यापकहरूले झुर पढाएकाले आफ्नो कम नम्बर आएको उनी बताउँछन् ।
मुद्दाको यही हप्ता लन्डनस्थित उच्च अदालतमा सुनुवाई चलिरहेको छ ।
डिसेम्बरको अन्त्यमा मुद्दामाथि फैसला आउने अपेक्षा गरिएको छ ।
सिद्दीकीका वकिल रोजर मल्ललिऊले सन् २००० मा एशियाली इतिहास पढाउने सातमध्ये चार प्राध्यापक अध्ययन बिदामा बसेकोले समस्या आएको बताए ।
कम अंक नआएको भए आफू अन्तर्राष्ट्रिय स्तरको कमर्सियल वकिल हुनसक्ने सिद्दीकीको तर्क छ ।
विशेषगरी डेभिड वाशब्रूकले साह्रै झर्कोलाग्दो गरी पढाएको भनी सिद्दीकीले दाबी गरे । वाशब्रूक दक्षिण भारतको इतिहासवेत्ता हुन् ।
खराब अंकका कारण आफूलाई डिप्रेशन र अनिद्राको रोग लागेको सिद्दीकीको भनाई छ ।
अक्सफोर्ड विश्वविद्यालयले भने सिद्दीकीको दाबीलाई आधारहीन बताएको छ । यत्तिका वर्षपछि अहिले आएर मुद्दा चलाउँदा यसको वैधानिकता समाप्त भइसकेको विश्वविद्यालयको तर्क छ ।
हिन्दुस्तान टाइम्स